मधुवनीमा विपन्न समुदायलाई कम्बल वितरण गरियो
मधेशदूत समाचारदाता----
सर्लाही, पुस १६
विगत चार वर्षदेखि निरन्तर रूपमा सञ्चालन हुँदै आएको कम्बल वितरण कार्यक्रमलाई निरन्तरता दिँदै यस वर्ष पनि गोडैता नगरपालिका वडा नं. १२ मधुवनीमा अति विपन्न दलित समुदायका व्यक्तिहरूलाई कम्बल वितरण गरिएको छ।
राष्ट्रिय रोजगार प्रबर्द्धन केन्द्र मलंगवा(RRPK) तथा सेभ द चिल्ड्रेनको साझेदारी र गोडैता नगरपालिकाको सहयोगमा सम्पन्न उक्त कार्यक्रममा पासवान, राम एवं तत्मा समुदायका अति विपन्न दलित एकल महिलासहित १५० जनालाई पहिलो चरणमा कम्बल वितरण गरिएको वडाअध्यक्ष केशव कुमारले जानकारी दिएका छन् ।
चिसो मौसमका कारण दैनिक जीवनमा कठिनाइ भोगिरहेका विपन्न समुदायलाई राहत पुर्याउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको उनको भनाइ छ। वडाअध्यक्ष केशवका अनुसार कम्बल वितरणको दोस्रो चरण केही दिनभित्रै सम्पन्न गरिनेछ।
स्थानीयवासीहरूले नियमित रूपमा सञ्चालन हुँदै आएको यस प्रकारको सामाजिक सहयोग कार्यक्रमले गरिब तथा विपन्न समुदायलाई ठूलो राहत मिलेको प्रतिक्रिया दिएका छन्।
No comments:
Post a Comment