तीन वर्षको प्रतीक्षापछि मलंगवाको नयाँ बसपार्क सञ्चालन, पहिलो दिनमै साना सवारीको विरोधले विवाद
मनोज यादव---
सर्लाही, पुस २
सर्लाही सदरमुकाम मलंगवामा तीन वर्षअघि निर्माण सम्पन्न भए पनि प्रयोगमा आउन नसकेको सुविधासम्पन्न बसपार्क अन्ततः सञ्चालनमा आएको छ। लामो समयदेखिको प्रशासनिक पहल र निर्णयपछि हिजो(मंगलबार)देखि मलंगवा नगरपालिका वडा न–२, जिल्ला प्रहरी कार्यालय नजिक निर्माण गरिएको नयाँ बसपार्कबाट बस सञ्चालन सुरु गरिएको हो। यद्यपि पुस १ गतेदेखि नयाँ बसपार्क बाट बसहरु संचालन हुने भनिएपनि पुस महिनामा गरेको कुनैपनि कामको सुभारम्भ राम्रो नहुने धार्मिक मान्यतालाई ध्यानमा राखेर एकदिन अगावै मंसिर २९ गतेदेखि नै केही बसहरु सो बसपार्क बाट संचालन भएका थिए।
जिल्ला प्रशासन कार्यालय र मलंगवा नगरपालिका कार्यालयको संयुक्त बैठकले पुस १ गतेदेखि बसपार्क सञ्चालन गर्ने निर्णय गरेसँगै सोही अनुसार बसहरु छुट्न थालेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत होमप्रसाद घिमिरेले जानकारी दिए। उनका अनुसार बसहरू अब नयाँ बसपार्कमा पार्किङ गरी राजश्री चोक, टावर चोक हुँदै जिविस चोकबाट गन्तव्यतर्फ प्रस्थान गर्ने व्यवस्था मिलाइएको छ।
नयाँ बसपार्क सञ्चालनमा आएपछि वर्षौंदेखि वडा न–९ मा कृषि विकास बैंकको जग्गामा सञ्चालन हुँदै आएको पुरानो बसपार्क विस्थापित भएको छ। बैंकले आफ्नै भवन निर्माणको तयारी गर्दै जग्गा खाली गराइदिन पटक–पटक स्थानीय प्रशासनलाई पत्राचार गरेपछि पनि बस व्यवसायीले स्थानान्तरणमा अनिच्छा देखाउँदै आएका थिए। पुरानो बसपार्ककै कारण बजार क्षेत्र अस्तव्यस्त बनेको भन्दै स्थानीयवासीको पनि गुनासो बढ्दै गएको थियो।
यद्यपि बसपार्क सञ्चालनको पहिलो दिनमै साना सवारीसाधन म्याजिक भ्यानका चालकहरुको विरोध देखिएको थियो । टेम्पु र म्याजिकजस्ता साना सवारीलाई जिविस चौरस्थित मन्दिर निर्माण भइरहेको क्षेत्र नजिक पार्किङ गरी त्यहीँबाट सञ्चालन गर्न निर्देशन दिएपछि चालकहरूले बिहान जिविस चोकमा चक्काजाम गर्दै विरोध जनाएका थिए । उनीहरूले आफूहरूलाई पनि बससरह नयाँ बसपार्कमै पार्किङ र सञ्चालनको व्यवस्था हुनुपर्ने माग गरेका छन्।
म्याजिक तथा अन्य मध्यम सवारी यातायात संघले यसअघि नै प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाउँदै समान पहुँच र सुविधाको माग राखेको थियो। नयाँ बसपार्क उद्घाटन भएदेखि नै साना सवारी पनि सोही बसपार्कबाट छुट्दै आएका थिए, तर पछिल्लो निर्णयले समस्या सिर्जना भएको चालकहरूको भनाइ छ।
संघीय सरकारको ८ करोड ३१ लाख रुपैयाँ लगानीमा निर्माण गरिएको उक्त बसपार्क केही समयअघि मात्र मलंगवा नगरपालिकालाई हस्तान्तरण गरिएको हो। बसपार्कमा टर्मिनल भवन, यात्रु प्रतिक्षालय, सार्वजनिक शौचालय, खानेपानी, वर्कशप क्षेत्र तथा पर्याप्त पार्किङ सुविधाको व्यवस्था गरिएको छ।
प्रमुख जिल्ला अधिकारी रामुराज कडरियाले निरन्तर प्रयासपछि बसपार्क सञ्चालन सम्भव भएको बताउँदै यसले मलंगवाको यातायात व्यवस्थापनमा सुधार ल्याउने विश्वास व्यक्त गरे। यद्यपि साना सवारीको व्यवस्थापन र देखिएको विरोधलाई कसरी सम्बोधन गरिन्छ भन्ने विषयले नयाँ बसपार्कको सफल सञ्चालनको दिशा तय गर्ने देखिएको छ।
No comments:
Post a Comment