मलंगवामा सडक अतिक्रमण हटाउन विशेष अभियान पुस २ गतेदेखि सुरु
मधेशदूत समाचारदाता----
सर्लाही,पुस २
मलंगवा नगर संरक्षण तथा सुधार समितिको आयोजनामा नगरभित्र बढ्दै गएको सडक तथा फुटपाथ अतिक्रमण हटाउने र नगर सौन्दर्यकरण गर्ने उद्देश्यसहित विशेष अभियान सञ्चालन हुने भएको छ। समितिले पुस २ गते बुधबार बिहान ७ बजेदेखि अभियान सुरु गर्न लागेको जनाएको छ।
समितिका अनुसार मलंगवा नगरपालिकाभित्रका विभिन्न स्थानमा सार्वजनिक सडक र फुटपाथमा पराल, गाईभैँसीको मल, बालुवा, गिट्टी, इट्टालगायत निर्माण सामग्री थुपार्ने, बाटो अतिक्रमण गरी अवैध संरचना निर्माण गर्ने जस्ता कार्य बढ्दै गएका छन्। यसका कारण सडक दिनानुदिन साँघुरो हुँदै सवारी साधन तथा पैदल यात्रुहरूलाई आवतजावतमा अत्यधिक कठिनाइ भइरहेको छ।
सडक अतिक्रमणका कारण ट्राफिक जाम, सवारी दुर्घटनाको जोखिम बढ्नुका साथै आपतकालीन सेवा सञ्चालनमा समेत अवरोध सिर्जना भएको समितिको ठहर छ। यसले नगरको सौन्दर्यमा समेत नकारात्मक असर पारिरहेको जनाइएको छ।
यसै सन्दर्भमा समितिले मंगलबार प्रमुख जिल्ला अधिकारीमार्फत जिल्ला प्रशासन कार्यालय सर्लाही, जिल्ला प्रहरी कार्यालय, मलंगवा नगरपालिका कार्यालय तथा सम्बन्धित निकायहरूलाई ज्ञापनपत्र बुझाउँदै अभियानमा कानुन बमोजिमको साथ र सहयोगको माग गरेको छ। ज्ञापनपत्रमा स्थानीय शासन ऐन, प्रचलित कानुन तथा नगरपालिकाका नियमावलीअनुसार सार्वजनिक सडक र फुटपाथ अतिक्रमणमुक्त राख्नुपर्ने व्यवस्था रहेको उल्लेख गरिएको छ।
समितिका अध्यक्ष चन्दन कुमार सिंहले सडक अतिक्रमण हटाउने अभियान सफल बनाउन सम्पूर्ण युवावर्ग, समाजसेवी, सर्वसाधारण तथा सम्बन्धित निकायहरूलाई सक्रिय सहभागिता र सहयोगका लागि हार्दिक अनुरोध गरेको छ ।
समितिले अभियानलाई निरन्तर र प्रभावकारी बनाउँदै मलंगवाको व्यवस्थित, सुरक्षित र सुन्दर नगर निर्माणमा योगदान पुर्याउने लक्ष्य लिएको जनाएको छ।
No comments:
Post a Comment