मलंगवाको जीर्ण पुल मर्मत गर्न हिन्दू सम्राट नेपालको माग, नगरपालिकालाई बुझाइयो ज्ञापनपत्र
मधेशदूत समाचारदाता----
सर्लाही, पुस २
मलंगवा नगरपालिका वडा नं. २ भित्र पर्ने जीर्ण अवस्थामा रहेको पुलको तत्काल मर्मत तथा आवश्यक परे नयाँ पुल निर्माण गर्न माग गर्दै हिन्दू सम्राट नेपालले मलंगवा नगरपालिका कार्यालयमा ज्ञापनपत्र बुझाएको छ। जिल्ला कार्य समिति सर्लाहीका महासचिव राकेश यादवसहितका टोलीले मंगलबार प्रमुख प्रशासकीय अधिकृत मार्फत उक्त ज्ञापनपत्र नगरपालिकालाई बुझाएका हुन्।
सिटिभिटी, शिक्षा कार्यालय, नगरपालिकाको नयाँ भवन नजिक तथा हुलाकी राजमार्गबाट करिब १०० मिटर उत्तरतर्फ शिवसागर चौक जाने सडकमा पर्ने उक्त पुल लामो समयदेखि जीर्ण अवस्थामा रहेको संगठनले जनाएको छ। पुल कमजोर भइसकेकाले सर्वसाधारण नागरिकलाई दैनिक आवत–जावतमा कठिनाइ भइरहेको छ भने दुर्घटनाको जोखिमसमेत बढ्दै गएको छ।
ज्ञापनपत्रमा पुलको जिर्ण अवस्थाका कारण स्थानीय बासिन्दा, विद्यार्थी तथा आम नागरिकको सुरक्षामा गम्भीर खतरा उत्पन्न भएको उल्लेख छ। समयमै मर्मत तथा जीर्णोद्धार नगरे भविष्यमा ठूला दुर्घटना हुन सक्ने भएकाले सम्बन्धित निकायको तत्काल ध्यानाकर्षण गराइएको छ।
हिन्दू सम्राट नेपालले सार्वजनिक सुरक्षालाई मध्यनजर गर्दै पुलको यथाशीघ्र मर्मत, जीर्णोद्धार तथा दीर्घकालीन समाधानका लागि नयाँ पुल निर्माण प्रक्रिया सुरु गर्न माग गरेको छ।
संगठनका महासचिव यादवले यदि मागहरू समयमै सम्बोधन नभए चरणबद्ध आन्दोलनका कार्यक्रम अघि बढाइने चेतावनी पनि दिएका छन्।
No comments:
Post a Comment