२८ बुँदे माग कार्यान्वयनको माग गर्दै जसपा नेपालद्वारा मलंगवामा प्रदर्शन
मधेशदूत समाचारदाता----
सर्लाही , पुस २
जनता समाजवादी पार्टी (जसपा) नेपालले अघि सारेका २८ बुँदे माग तत्काल कार्यान्वयन गर्नुपर्ने माग गर्दै सर्लाहीको सदरमुकाम मलंगवामा मंगलबार दिउँसो विरोध प्रदर्शन गरेको छ।
विरोध सभालाई सम्बोधन गर्दै जसपा नेपाल जिल्ला समिति सर्लाहीका अध्यक्ष रणधिर यादवले समावेशिता, सुशासन, सामाजिक न्याय र जनजीविकासँग सम्बन्धित मुद्दाहरूलाई सरकारले निरन्तर उपेक्षा गर्दै आएको आरोप लगाए। उनले जनताको अधिकार सुनिश्चित हुने गरी पार्टीले प्रस्तुत गरेका २८ बुँदे मागहरू तत्काल कार्यान्वयन नगरे आन्दोलनलाई अझ कडा बनाइने चेतावनी दिए।
सभामा पार्टीका केन्द्रीय सदस्य सुनैना चौधरी र मिरा मण्डल, राष्ट्रिय सभाका पूर्व सदस्य रामपृत पासवान, जिल्ला उपाध्यक्ष तथा चक्रघट्टा गाउँपालिकाका अध्यक्ष कृष्ण कुमार यादव, बसवरिया गाउँपालिकाका अध्यक्ष राम सिहासन यादव, कविलासी नगरपालिकाका पूर्व मेयर कौशल किशोर यादवसहित स्थानीय तहका नेताहरू, कार्यकर्ता तथा समर्थकहरूको उल्लेख्य सहभागिता रहेको थियो।
वक्ताहरू सरकारले जनताको समस्याप्रति गम्भीर नदेखिएको भन्दै आफ्ना माग पूरा गराउन दबाबमूलक कार्यक्रमलाई निरन्तरता दिने बताएका छन्।
उक्त विरोध सभा जनता समाजवादी पार्टी, नेपाल जिल्ला समिति सर्लाहीको आयोजनामा सम्पन्न भएको हो।
No comments:
Post a Comment