Translate

Friday, December 12, 2025

कांग्रेसको मापदण्ड विपरीत सिफारिस, सर्लाही क्षेत्र नं.४ विवादित निर्णय तत्काल बदर गर्नुपर्ने महासमिति सदस्य राजेश्वर सिंहको माग

 



मधेशदूत समाचारदाता
सर्लाही, मंसिर २६
    आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचन नजिकिँदै गर्दा नेपाली कांग्रेस सर्लाही क्षेत्र नं. ४ मा उम्मेदवार सिफारिस प्रक्रियालाई लिएर गम्भीर विवाद उत्पन्न भएको छ। पार्टीको स्पष्ट मापदण्ड अवज्ञा गर्दै वर्तमान मधेश प्रदेश सभा सदस्यको नाम सिफारिस गरिएपछि कांग्रेसभित्र असन्तुष्टि चुलिएको हो।
   कांग्रेस केन्द्रीय समितिको निर्देशनअनुसार हाल वहालवाला प्रदेशसभा सदस्यहरूको नाम प्रतिनिधि सभातर्फ सिफारिस गर्न नपाइने व्यवस्था छ। तर मंगलबार बसेको क्षेत्रीय बैठकले सो मापदण्ड उल्लङ्घन गर्दै प्रदेश सांसद वीरेन्द्र प्रसाद सिंहको नाम सिफारिस गरेको स्थानीय नेताहरूले जानकारी दिएका छन्।
   बैठकमा सहभागी धेरैजना नेताहरूले “पार्टीको निर्णय विपरीत बलपूर्वक सिफारिस गरियो” भन्दै कडा आपत्ति जनाएका छन्। असन्तुष्ट पक्षमा परेका कांग्रेस महासमिति सदस्य ई.डा. राजेश्वर सिंह कुशवाहाले सिफारिस प्रक्रियालाई नै अवैध ठहर गर्दै कडा प्रतिक्रिया जनाएका छन्।
  वर्तमान प्रदेश सांसद सिंहको नाम पार्टी निर्णयविपरीत जबरजस्ती सिफारिस गरिएको छ। कानूनी पार्टी प्रणालीमा यस्ता निर्णय टिक्दैनन्। यो निर्णय बदर भएर मापदण्डअनुसार मेरो नाम सिफारिस हुनेछ भन्नेमा म विश्वस्त छु,” सिंहले भने।
  उनले विगतमा महासचिव गगन थापाको नाम सर्लाहीबाट सिफारिस भए पनि अन्ततः अन्य क्षेत्रबाट उम्मेदवारी दिएपछि कांग्रेसले क्षेत्र न-४ को निर्वाचनमा हार बेहोरेको उदाहरण प्रस्तुत गर्दै ‘गलत सिफारिसको परिणाम पार्टीकै हितविरुद्ध जाने’ टिप्पणी गरे।
  महासमिति सदस्य सिंहले आफ्नो २०४७ सालदेखि सुरु भएको राजनीतिक यात्रा, विद्यार्थी राजनीति, जनसम्पर्क समिति, पार्टी संरचना तथा विभिन्न निर्वाचन अभियानमा गरेको निरन्तर सक्रियता उल्लेख गर्दै आफू सबै योग्यता पुगेको दाबी गरे। भारत र दक्षिण कोरियामा उच्च शिक्षादेखि प्राविधिक सेवा र अन्तर्राष्ट्रिय अनुभवसमेत रहेको बताउँदै उनले प्रतिनिधि सभाको जिम्मेवारी कुशलतापूर्वक वहन गर्न सक्ने आत्मविश्वास व्यक्त गरे।
  उनले स्पष्ट शब्दमा भने—“प्रदेश सांसद  सिंहको नाम हटाई पार्टी मापदण्डअनुसार मेरो नाम सिफारिस गर्नुपर्छ। मेरो आवेदन दर्ता रोकेर बाहुबली नेताको नाम सिफारिस गर्नु अन्याय र प्रक्रियाविपरीत हो।”
  उनको यो अभिव्यक्ति सार्वजनिक भएपछि सर्लाही क्षेत्र नं. ४ को सिफारिस प्रक्रिया झनै विवादित बनेको छ। अब केन्द्रीय कार्यालयले यसबारे गर्ने अन्तिम निर्णयले कांग्रेसभित्र नयाँ राजनीतिक तरंग उत्पन्न गर्ने संकेत देखिएको छ।

No comments:

Post a Comment