Translate

Friday, December 12, 2025

मलंगवा ग्रिनलैण्ड माविका पुराना विद्यार्थीले गरे नवप्रवेशी विद्यार्थीहरुको स्वागत

 


मनोज यादव
सर्लाही, मंसिर २६

     मलंगवा नगरपालिका–१० स्थित मलंगवा ग्रिन लैण्ड अंग्रेजी आवासीय माध्यमिक विद्यालयको कक्षा १२ मा अध्ययनरत विद्यार्थीहरूले कक्षा ११ का नवप्रवेशी विद्यार्थीहरूलाई स्वागत गरेका छन्। शुक्रबार विद्यालयका को–अर्डिनेटर जितेन्द्र सिंहको अध्यक्षता तथा जिल्ला शिक्षा विकास समन्वय इकाइका निमित्त प्रमुख रामवृक्ष महतोको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा उनीहरूलाई स्वागत गरिएको  हो।
  कार्यक्रममा कक्षा १२ का विद्यार्थीहरूले नवप्रवेशी विद्यार्थीहरूलाई खाँदा ओढाएर मायाको चिनोसहित सम्मानपूर्वक स्वागत गरेका थिए।  पुराना विद्यार्थीमार्फत नयाँ विद्यार्थीलाई स्वागत गराउने परम्पराले विद्यार्थीमा अनुशासन, संस्कार र आपसी सौहार्द विकास गर्न सहयोग पुग्ने को-अर्डिनेटर सिंहले बताए । उनका अनुसार स्थापना कालदेखि नै उत्कृष्ट रिजल्ट दिँदै आएको विद्यालयका अधिकांश विद्यार्थी हाल विभिन्न सरकारी तथा निजी क्षेत्रमा सफलतापूर्वक कार्यरत छन्।


  यस अवसरमा उत्कृष्ट अंक प्राप्त गरी उत्तीर्ण भएका विद्यार्थीहरूलाई उपहार प्रदान गरिएको थियो। कार्यक्रमलाई आकर्षक बनाउन विद्यार्थीहरूले विविध साँस्कृतिक प्रस्तुति दिएर वातावरणलाई झनै रमाइलो बनाएका थिए।
   विशिष्ट अतिथि प्राध्यापक कृपानाथ झाले विद्यार्थीहरूको सफलतामा विद्यालयका शिक्षकहरूको महत्वपूर्ण भूमिका रहेको उल्लेख गर्दै समर्पित शिक्षणका लागि शिक्षकसमूहलाई धन्यवाद व्यक्त गरे।
   विद्यालयको प्रांगणमा सम्पन्न भएको कार्यक्रममा शिक्षक, विद्यार्थी तथा पत्रकारहरको उपस्थिति रहेको थियो।

No comments:

Post a Comment