गोडैताका दुई वडा ‘बालविवाह–मुक्त’ घोषणा, सर्लाहीमै पहिलो सफलता
मनोज यादव---
सर्लाही, मंसिर २६
सर्लाहीको गोडैता नगरपालिकाका दुई वटा वडाहरु वडा नं. १ बहादुरपुर र वडा नं. १२ मधुवनी बिहीवार एकै दिन ‘बालविवाह–मुक्त वडा’ घोषणा भएका छन्। आवश्यक सबै मापदण्ड पूरा भएपछि गोडैता नगरपालिका बाल अधिकार समितिले दुवै वडालाई औपचारिक रूपमा बालविवाह -मुक्त वडा घोषणा गरिएको हो । यससँगै गोडैता नगरपालिका सर्लाही जिल्लामै पहिलोपटक बालविवाह–मुक्त वडा घोषणा गर्ने स्थानीय तह बनेको छ।
राष्ट्रिय रोजगार प्रवर्द्धन केन्द्र, सेभ द चिल्ड्रेन र गोडैता नगरपालिकाको सहकार्यमा दुवै वडाका सामुदायिक विद्यालयमा भव्य समारोहको आयोजना गरिएको थियो । वडा न-१ बहादुरपुलाई प्रदेश सांसद वीरेन्द्र प्रसाद सिंह र मधुवनीमा नगरप्रमुख देवेन्द्रकुमार यादवले प्रमाणपत्रमा लेखिएका कुराहरुलाई वाचन गरेर बालविवाह मुक्त भएको घोषणा गरेका थिए।
समारोहमा बोल्ने अधिकाशं वक्ताहरुले वडा स्तरमै रोकिएको बालविवाहलाई आधार बनाउँदै अब पूरे नगरपालिकालाई बालविवाह–मुक्त बनाउने लक्ष्यमा अघि बढ्नुपर्नेमा जोड दिए। समाजमा भइरहेको बालविवाह न्यूनीकरणका गतिविधिलाई अझ सशक्त बनाउन माग समेत गरियो।
घोषणापछि दुवै वडामा नियमित अनुगमन, जनचेतनामूलक कार्यक्रम र वैवाहिक उमेर प्रमाणीकरण कडाइका साथ लागू गरिने वडाले जनाएको छ। राष्ट्रिय रोजगार प्रवर्द्धन केन्द्रको निरन्तर सचेतनामूलक अभियानले यी वडामा बालविवाह नियन्त्रणमा महत्वपूर्ण भूमिका खेलेको बताइएको छ।
जनप्रतिनिधि, राजनीतिक दलका नेता, सामाजिक अगुवा, शिक्षक, अभिभावक तथा बाल क्लब पदाधिकारीहरूले अबदेखि वडाभर कुनै पनि बालविवाह हुन नदिन पूर्ण प्रतिवद्धता व्यक्त गरेपछि घोषणा सम्भव भएको हो।
घोषणा समारोहको अवसरमा वडाअध्यक्ष, वडासदस्य, नगरपालिका कर्मचारी, सुरक्षा निकायका प्रतिनिधि, शिक्षक–शिक्षिका, अभिभावक, पत्रकारसहित स्थानीयबासीको उत्साहजनक उपस्थिति थियो। दुवै वडाका स्थानीयबासी बालविवाह–मुक्त घोषणा भएसँगै अत्यन्तै उत्साहित र खुसीदेखिएका थिए।
No comments:
Post a Comment