Translate

Monday, December 15, 2025

बलरा–७ डुमरिया बालविवाहमुक्त वडा घोषणा पालिकामा पहिलो र समग्र जिल्लामा दोस्रो

 


मनोज यादव----

सर्लाही, पुस १

  सर्लाहीमा बालविवाह अन्त्यतर्फको अभियानले थप गति लिँदै बलरा नगरपालिका वडा नं. ७ डुमरियालाई सोमबार औपचारिक रूपमा बालविवाहमुक्त वडा घोषणा गरिएको छ। नेपालमा प्रचलित कानूनअनुसार २० वर्ष उमेर पूरा गरेपछि मात्र विवाह गर्ने दर ९० प्रतिशतभन्दा माथि पुगेपछि आवश्यक मापदण्ड पूरा भएको ठहर गर्दै एक भव्य समारोहबीच उक्त घोषणा गरिएको हो।
योसँगै डुमरिया बलरा नगरपालिकाभित्र बालविवाहमुक्त घोषणा हुने पहिलो वडा बनेको छ भने समग्र सर्लाही जिल्लाभरमा भने दोस्रो वडा बन्न सफल भएको छ। यसअघि जिल्लाको गोडैता नगरपालिका–१ बहादुरपुर तथा वडा नं. १२ मधुवनीलाई गत मंसिर २५ गते बालविवाहमुक्त वडा घोषणा गरिएको थियो।
सेभ द चिल्ड्रेनको आर्थिक सहयोग तथा राष्ट्रिय रोजगार प्रबर्द्धन केन्द्र (RRPK) मलंगवा र बलरा नगरपालिकाको समन्वयमा सञ्चालित समुन्नति कार्यक्रम अन्तर्गत डुमरियामा बालविवाह विरुद्ध लामो समयदेखि सचेतना अभियान सञ्चालन हुँदै आएको थियो। सोही अभियानको उपलब्धिका रूपमा बालविवाहमुक्त वडा घोषणा कार्यक्रम आयोजना गरिएको हो। कार्यक्रमको अध्यक्षता वडा नं. ७ का वडाध्यक्ष प्रविण कुमार सिंहले गरेका थिए भने प्रमुख अतिथि जिल्ला समन्वय समिति सर्लाहीका प्रमुख कौशल किशोर सिंह रहेका थिए।


डुमरिया स्थित सामुदायिक विद्यालयको परिसरमा आयोजित कार्यक्रममा प्रमुख अतिथि सिंह र बलरा नगरपालिकाका नगरप्रमुख रामाशंकर प्रसाद कुशवाहाले प्रमाणपत्रमा उल्लेखित प्रतिबद्धता वाचन गर्दै वडालाई औपचारिक रूपमा बालविवाहमुक्त घोषणा गरेका थिए। कार्यक्रममा बोल्दै वक्ताहरूले बालविवाहले बालबालिकाको शिक्षा, स्वास्थ्य र भविष्यमा गम्भीर असर पार्ने भएकाले यसविरुद्धको अभियानलाई निरन्तरता दिनुपर्नेमा जोड दिएका थिए।
घोषणा समारोहकै अवसरमा डुमरिया स्वास्थ्य चौकीको आयोजनामा एकदिने निःशुल्क स्वास्थ्य शिविरसमेत सञ्चालन गरिएको थियो। शिविरमा स्थानीय बासिन्दाको स्वास्थ्य जाँचका साथै निःशुल्क औषधि वितरण गरिएको स्वास्थ्य चौकी प्रमुख हरेश्वर प्रसाद सिंहले जानकारी दिए।
कार्यक्रममा वडालाई बालविवाहमुक्त बनाउन उल्लेखनीय योगदान पुर्‍याउने व्यक्तिहरूलाई नगरप्रमुख कुशवाहा र जिसस प्रमुख सिंहले प्रशंसा पत्र प्रदान गर्दै सम्मान गरेका थिए। घोषणासभामा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अनिल प्रसाद सिंह, राष्ट्रिय रोजगार प्रबर्द्धन केन्द्रका अध्यक्ष लिला पनेरु, कार्यकारी निर्देशक शिवजी प्रसाद साह, पूर्व गाविस अध्यक्ष अलख प्रसाद सिंह, विभिन्न वडाका वडाध्यक्ष, पालिकाका कर्मचारी, शिक्षक, विद्यार्थी तथा स्थानीय बासिन्दाको उल्लेखनीय उपस्थिति रहेको थियो।
डुमरियालाई बालविवाहमुक्त वडा घोषणा गरिनु सर्लाही जिल्लामा बालअधिकार संरक्षण र सामाजिक रूपान्तरणतर्फको महत्वपूर्ण उपलब्धि मानिएको छ।

No comments:

Post a Comment