खेतमै धान काट्ने थ्रेसर मेसिन पुगेपछि किसानलाई राहत धान दाइँ (दौनी) गर्न सजिलो
मनोज यादव---
सर्लाही, मंसिर २९
खेतमै धान काट्ने र दाइँ गर्ने आधुनिक थ्रेसर मेसिन पुगेपछि सर्लाहीका किसानलाई धान भित्र्याउन निकै सहज भएको छ। जिल्लाका अधिकांश क्षेत्रमा धान कटाइको काम धमाधम भइरहेकाले किसानहरू अहिले खेतमै धान दाइँ गरेर अन्न भित्र्याउन व्यस्त देखिन्छन्।
स्थानीय किसानका अनुसार थ्रेसर मेसिनको प्रयोगसँगै धान काटेर बोझा बनाएर घर वा खलियानमा ओसार्ने र गोरु प्रयोग गरेर दाइँ गर्ने पुरानो चलन विस्तारै हट्दै गएको छ। यसले समय, श्रम र लागत तीनै कुरामा बचत भएको किसानहरूको भनाइ छ।
कबिलासी नगरपालिका–९, सलेमपुरका थ्रेसर मेसिनका साहु रामेश्वर यादवले भने,
“अहिले धान काट्ने सिजन भएकाले मेसिनलाई खेत–खेत लैजान भ्याइनभ्याई छ। एक घण्टामा ७ देखि ८ कठ्ठासम्म धान काटेर दाइँ गर्न सकिन्छ। यसले मजदुरको आवश्यकता कम हुनुका साथै समय पनि धेरै बचत भएको छ।”
उनका अनुसार मेसिनले छिटो र सफा रूपमा धान दाइँ गरिदिने भएकाले किसानलाई निकै सहज भएको छ।
अर्का थ्रेसर साहु किसुन यादवले भने,
“किसानले बोलाए पनि नबोलाए पनि म आफैँ थ्रेसर लिएर खेतमा पुग्ने गर्छु। सिजनमा राम्रो आम्दानी पनि हुन्छ र किसानको काम पनि छिटो सकिन्छ।”
कृषि प्राविधिकका अनुसार थ्रेसर मेसिनले एक घण्टामा २० क्विन्टलभन्दा बढी धान दाइँ गर्न सक्छ। कृषि क्षेत्रमा आधुनिक प्रविधि भित्रिएसँगै पछिल्लो समय खेती प्रणाली सहज र प्रभावकारी बन्दै गएको उनीहरूको भनाइ छ।
धान कटाइ सम्पन्न भइसकेका स्थानहरूमा यतिबेला थ्रेसर मेसिनको प्रयोग गरी दाइँ गरेर धान भित्र्याउने काम तीव्र रूपमा भइरहेको छ। आधुनिक प्रविधिले किसानको मेहनत घटाउनुका साथै उत्पादन व्यवस्थापनमा समेत सकारात्मक प्रभाव पारेको देखिन्छ।
No comments:
Post a Comment