मलंगवामा आजदेखि नयाँ बसपार्कबाट बस सञ्चालन सुरु
मधेशदूत समाचारदाता---
सर्लाही , मंसिर २९
मलंगवा नगरपालिका वडा नं. २ स्थित नयाँ बसपार्कबाट आजदेखि नियमित रूपमा बस सञ्चालन सुरु गरिएको छ। यसअघि वडा नं. ९ मा कृषि विकास बैंकको जग्गामा सञ्चालन हुँदै आएको पुरानो बसपार्कबाट बसहरू स्थानान्तरण गरी नयाँ बसपार्कबाट सञ्चालन गर्ने निर्णय कार्यान्वयनमा आएको हो।
प्रमुख जिल्ला अधिकारी रामु राज कडरीयाको अध्यक्षतामा गत मंसिर २१ गते जिल्ला प्रशासन कार्यालय मलंगवामा बसेको बैठकले जिल्लाको समग्र शान्ति सुरक्षा, अपराध तथा लागू औषध नियन्त्रण, विपद् व्यवस्थापन तथा बसपार्क स्थानान्तरणलगायत विविध विषयमा छलफल गर्दै पुस १ गतेदेखि नयाँ बसपार्कबाट बस सञ्चालन गर्ने निर्णय गरेको थियो।
तर धार्मिक मान्यताअनुसार पुस महिनामा बस सञ्चालन शुभ नमानिने भएकाले एक दिन अगावै मंसिर २९ गतेदेखि नै नयाँ बसपार्कबाट बस सञ्चालन सुरु गरिएको यातायात व्यवसायीले जानकारी दिएका छन्।
यसअघि नयाँ बसपार्क क्षेत्रमा म्याजिक, टेम्पो लगायतका साना सवारीसाधन मात्र सञ्चालन हुँदै आएका थिए। नयाँ बसपार्कबाट बस सञ्चालन सुरु भएसँगै यात्रुहरूलाई सहजता हुने र नगरको यातायात व्यवस्थापन थप व्यवस्थित हुने अपेक्षा गरिएको छ।
No comments:
Post a Comment