Translate

Thursday, December 18, 2025

वर्षातमा जोखिमपूर्ण रामनगर गाउँपालिकाको मलघट्टामा कल्भर्टको स्थानमा नयाँ पुल निर्माण हुँदै

  



मधेशदूत समाचारदाता---
सर्लाही, पुस ४

    रामनगर गाउँपालिकाको मलघट्टा टोलदेखि पश्चिम मनुष्मारा सिँचाइ प्रणालीको मेन ड्रेनमा रहेको पुरानो ह्युमपाइप कल्भर्टको स्थानमा नयाँ पुलको निर्माणकार्य सुरु भएको छ। उक्त कल्भर्ट २०४२/०४३ सालतिर सिँचाइ विभागले निर्माण गरेको थियो।
   यो मार्ग महिनाथपुर, सोनारटोला हुँदै बागमती नदीको धर्मपुरघाट पुल पार गरी सर्लाही आउने–जाने मुख्य बाटोका रूपमा प्रयोग हुँदै आएको छ। सुक्खा मौसममा सहज देखिने यो सडक वर्षातको समयमा भने निकै जोखिमपूर्ण बन्दै आएको थियो। भारी वर्षापछि कल्भर्टमाथि ६ देखि ७ फिटसम्म पानी बग्ने हुँदा यात्रु तथा सवारी साधनलाई आवतजावत गर्न कठिनाइ हुँदै आएको छ।
  यसअघि केही वर्षअघि कल्भर्ट पार गर्ने क्रममा महिनाथपुरका एक युवक तीव्र बहावमा परेर डुबेर ज्यान गुमाएको घटनाले यस क्षेत्रको जोखिम झन् उजागर गरेको थियो।
  मधेश प्रदेश सरकारको प्रत्येक प्रदेश सभा क्षेत्रमा एक क्षेत्रीय सडक निर्माण गर्ने नीति अनुरूप प्रदेश सभा सदस्य बिरेन्द्र प्रसाद सिंहको पहलमा “छठीघाटदेखि महिनाथपुर–मलघट्टा–रैकल–धोबिनिया हुँदै सेखौना मुख्य नहर” जोड्ने करिब ६.१ किलोमिटर लामो सडकलाई क्षेत्रीय सडकका रूपमा अघि बढाइएको हो।
  करिब १७ करोड रुपैयाँको लागतमा निर्माणाधीन यस सडक योजनाअन्तर्गत मलघट्टा टोल पश्चिममा पर्ने उक्त कल्भर्टको स्थानमा पुल निर्माणको काम भइरहेको छ। पुल निर्माणपछि वर्षातमा हुने जोखिम न्यूनीकरण हुनुका साथै सर्लाही र रौतहट जिल्लाका सर्वसाधारणलाई सुरक्षित र सहज यात्रा सुविधा मिल्ने अपेक्षा गरिएको छ।

No comments:

Post a Comment