घरमा चोरी गर्ने गिरोह पक्राउ, सुनका गरगहना बरामद
मधेशदूत समाचारदाता---
सर्लाही, पुस ४
सर्लाहीको लालबन्दी बजार क्षेत्रमा पछिल्ला केही महिनादेखि घरधनी नभएको मौका छोपी ताल्चा फुटाई चोरी गर्दै आएका समूहलाई प्रहरीले पक्राउ गरेको छ।
इलाका प्रहरी कार्यालय लालबन्दीले चोरीका घटनाबारे गोप्य रुपमा अनुसन्धान तथा निगरानी गर्दा चोरीका सुनका गरगहना बिलभरपाई बिना खरिद–बिक्री भएको सूचना पाएको थियो। सोही आधारमा लालबन्दी नगरपालिका–७ स्थित आर.के. ज्वेलर्सका सञ्चालक रमेश विश्वकर्मा र वडा नं. ६ स्थित साईरा ज्वेलर्सका सञ्चालक कुमार विश्वकर्मामाथि सोधपुछ गरिएको थियो।
सोधपुछका क्रममा चोरीका तिलहरी करिब १ लाख ४४ हजार रुपैयाँमा बिक्री गरिएको खुलेपछि धनकौल गाउँपालिका–६ घर भई हाल लालबन्दी–७ मा डेरा गरी बस्ने पिंकी देवी साह र मुख्य चोरीमा संलग्न व्यक्ति (परिवर्तित २२ लालबन्दी ०८२/०८३ (C)) लाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
नियन्त्रणमा लिई उनीहरुको कोठा खानतलासी गर्दा दराजको लकरभित्र लुकाइ राखिएका विभिन्न सुनका गरगहना तथा नगद रकम बरामद गरिएको प्रहरीले बताएको छ। बरामद गरगहनाको सनाखत गराउँदा लालबन्दी नगरपालिका–९ बस्तीपुर निवासी प्रमोद कुमार लुईटेलको घरबाट २०८२ मंसिर २३ गते चोरी भएको गरगहना भएको पुष्टि भएको छ।
पीडितको जाहेरीका आधारमा चोरीसम्बन्धी कसुरमा मुद्दा दर्ता गरी सर्लाही जिल्ला अदालतबाट ५ दिनको म्याद थप लिई अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय लालबन्दीले जनाएको छ।
पक्राउ पर्नेहरूमा आर.के. ज्वेलर्सका सञ्चालक रमेश विश्वकर्मा, साईरा ज्वेलर्सका सञ्चालक कुमार विश्वकर्मा, सुन बिक्रीमा संलग्न पिंकी देवी साह र मुख्य चोरी गर्ने व्यक्ति (परिवर्तित) रहेका छन्।
No comments:
Post a Comment