मलंगवा नगरपालिकामा सुधारका निर्णय: नयाँ बसपार्क मर्मत, भत्किएको पुल ७ दिनभित्र निर्माण, कार्यालय नयाँ भवनमा स्थानान्तरणको तयारी
मनोज यादव –-
सर्लाही, पुस ४
मलंगवा नगरपालिका वडा नं.–२ मा रहेको नयाँ बसपार्क, नगरपालिकाको नवनिर्मित प्रशासनिक भवन र सीसीटीभी नजिकको भत्किएको पुलको बिहीबार संयुक्त रूपमा अवलोकन तथा अनुगमन गरिएको छ।
नगर प्रमुख नागेन्द्र प्रसाद यादव को नेतृत्वमा भएको अनुगमनमा प्रमुख प्रशासकीय अधिकृत होम प्रसाद धिमिरे, होमनाथ सुवेदी, वडा नं.–२ का वडाअध्यक्ष धिरेन्द्र साह, वडा नं.–३ का प्रमोद राय यादव, वडा नं.–८ का मुकेश जयसवाल, प्राविधिक तथा कर्मचारीहरू, मलंगवा नगर संरक्षण तथा सुधार समितिका अध्यक्ष चन्दन सिंह र स्थानीय युवा प्रतिनिधिहरू सहभागी थिए।
अनुगमनका क्रममा नयाँ बसपार्कमा मर्मत र व्यवस्थापनको आवश्यकता देखिएपछि तत्काल सुधारका काम अघि बढाउने निर्णय गरिएको छ। साथै, सीसीटीभी नजिकको भत्किएको पुलले आवतजावतमा समस्या सिर्जना गरेको निष्कर्ष निकाल्दै सो पुल सात दिनभित्र निर्माण गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ।
त्यसैगरी, नगरपालिकाको नवनिर्मित भवनमा बाँकी रहेका कामहरू यथाशीघ्र सम्पन्न गरी कार्यालय स्थानान्तरण गर्ने विषयमा छलफल भएको छ।
नगर प्रमुख यादवले अनुगमनबाट देखिएका समस्या समाधानमा नगरपालिका गम्भीर रहेको उल्लेख गर्दै, समयमै काम सम्पन्न गरेर सेवाग्राहीलाई सहज सेवा दिने प्रतिबद्धता जनाउनुभयो।
No comments:
Post a Comment