Translate

Thursday, December 18, 2025

समाजसेवी रविन महतोको पहलमा गरिब तथा विद्यार्थीका लागि निशुल्क आँखा शिविर

 


मधेशदूत समाचारदाता----
सर्लाही, पुस ४

    सर्लाहीको कबिलासी नगरपालिका सलेमपुर निवासी युवा समाजसेवी रविन महतोको पहलमा जिल्लाको हरिपुर्वा नगरपालिका वडा नं–५ स्थित श्री केश्वर गरिब जनता माध्यमिक विद्यालयमा बिहिवार निशुल्क आँखा परिक्षण शिविरको आयोजना गरिएको छ।
  शिविरको मुख्य उद्देश्य स्थानीय गरिब र पिछडिएका वर्गसँगै विद्यालयमा अध्ययनरत विद्यार्थीहरुको आँखा सम्बन्धी समस्या पहिचान गर्नु रहेको छ। रविन महतोका अनुसार, “धेरै मानिसहरूमा आँखाको समस्या भए पनि पैसाको अभावका कारण उपचार हुन सकेको छैन। परिणामस्वरूप आँखा बिग्रिएर अन्धोपनको जोखिम हुन्छ। यस्तो अवस्थामा सहयोग र सेवा पुर्‍याउनु हाम्रो मुख्य उद्देश्य हो।”
   शिविरमा उक्त विद्यालयका कक्षा ८ देखि १२ सम्मका विद्यार्थीहरू र आसपासका स्थानीय समेत गरी २ सयभन्दा बढी व्यक्तिको आँखाको स्क्रिनिङ्ग गरिएको थियो। जसमध्ये ३० जनामा आँखाको समस्या पाइएको थियो। स्क्रिनिङ्गमा संलग्न इन्डो नेपाल आँखा अस्पताल, मलंगवा का चिकित्सक डा. मनोज यादवले जानकारी दिंदै भने, “समस्या देखिएका बिरामीहरुलाई आवश्यक परे नजिकैको आँखा अस्पतालमा रेफर गरिएको छ।”
  शिविरमा आएका बिरामीहरुलाई आवश्यकताअनुसार निशुल्क औषधि र चश्मा समेत प्रदान गरिएको थियो। यसअघि पनि रविन महतोले कौडेना गाउँपालिकाको फुलपरासी लगायत अन्य स्थानमा यस्तै शिविर सञ्चालन गरिसकेका छन्। उनले बिरामीहरुको आँखाको शल्यक्रिया पनि आफ्नै लगानीमा गरिसकेका छन्।
  शिविरमा सहभागी विद्यार्थीहरूले महतोको योगदानको प्रशंसा गर्दै भने, “ रविन जस्तो युवा समाजसेवी हाम्रो समाजमा हुनु अत्यन्त आवश्यक छ। उनका कामले हाम्रो जीवनमा ठूलो सहयोग पुर्‍याउँछ।”
  सामाजिक सेवाको क्षेत्रमा सक्रिय  महतोको यो पहलले जिल्लाका गरिब र पिछडिएका वर्गका मानिसलाई दृष्टिसम्बन्धी स्वास्थ्यमा सहज पहुँच सुनिश्चित गरेको छ, र यसले भविष्यमा यस्ता स्वास्थ्य शिविरहरूको आवश्यकता र महत्वलाई थप उजागर गरेको छ।


No comments:

Post a Comment