बिना कुनै सूचना समर्सियलको विद्युत लाइन काटिँदा मलंगवामा खानेपानी संकट,पुनः जडान गर्न माग गर्दै सिडियोलाई ज्ञापनपत्र
मधेशदूत समाचारदाता—
सर्लाही, पुस १३
मलंगवा नगर संरक्षण तथा सुधार समितिले बिना पूर्वसूचना काटिएका समर्सियल विद्युत लाइनका कारण नगरभित्र खानेपानी आपूर्ति अवरुद्ध भएको भन्दै शुक्रबार जिल्ला प्रशासन कार्यालय मलंगवामा प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाएको छ।
समितिका अनुसार मधेश प्रदेशलाई पानीको चरम अभावका कारण सुखाग्रस्त क्षेत्र घोषणा गरिएको अवस्थामा मलंगवा नगरपालिकामा जनताको आवश्यकतालाई ध्यानमा राखी समर्सियल विद्युत जडानमार्फत पानी आपूर्ति हुँदै आएको थियो। तर नेपाल विद्युत प्राधिकरणले कुनै जानकारी नदिई ती लाइन काट्दा नगरवासी पानीको अभावले प्रभावित भएका छन्।
प्रजिअ रामुराज कडरियालाई बुझाएको ज्ञापनपत्रमा विद्युत लाइन काट्न आउने क्रममा नेपाल विद्युत प्राधिकरणका कर्मचारीहरूले स्थानीय जनप्रतिनिधिसँग असहयोगी र अपमानजनक व्यवहार गरेको गुनासो पनि गरिएको छ। समस्या समाधानका लागि पुगेका वडा नम्बर २ का अध्यक्ष धीरेन्द्र शाह र वडा नम्बर १० का अध्यक्ष मुकेश झासँग गरिएको व्यवहार निन्दनीय रहेको समितिको भनाइ छ।
समितिले तत्काल काटिएका सबै विद्युत लाइन पुनः जडान गर्न, भविष्यमा लाइन काट्नु अघि अनिवार्य रूपमा लिखित सूचना दिने व्यवस्था लागू गर्न, वडाअध्यक्षलाई अमानवीय व्यवहार गर्ने कर्मचारीलाई जवाफदेही बनाउन तथा स्थानीय जनप्रतिनिधि र सरोकारवालासँग समन्वय गरी समस्याको दीगो समाधान निकाल्न माग गरेको छ।
समितिका अध्यक्ष चन्दन कुमार सिंहले मागहरू समयमै सम्बोधन नभए आन्दोलनका कार्यक्रम घोषणा गर्न बाध्य हुने चेतावनी समेत दिएका छन्।
No comments:
Post a Comment