Translate

Wednesday, December 31, 2025

हुस्सु, कुहिरो र शीतलहरले थिचिएको मधेशको दैनिकी

 


मनोज यादव---
सर्लाही, पुस १७

   झण्डै एक सातादेखि आकाशमा घाम देखिएको छैन । बिहान केही उज्यालो भए पनि मधेशका बस्तीहरू अँध्यारो जस्तै देखिन्छन् । हुस्सु, कुहिरो र स्याँठ चल्ने चिसोले जनजीवन यति प्रभावित बनेको छ कि बिहानको दैनिकी सुरु गर्नै मानिस हिच्किचाउन थालेका छन् । घरबाहिर निस्कँदा शीतलहरले पानी परेझैँ भिजाउँछ, शरीर मात्र होइन, मनसमेत कठ्याङ्ग्रिन्छ ।
    सर्लाहीसहित तराई–मधेशका जिल्लामा जारी शीतलहरले सडक, बजार र खेतबारी सुनसान बन्दै गएका छन् । बिहान सबेरै खोलिनुपर्ने पसल ढिलो खुल्छन् । चिया पसलमा जम्मा भएका केही वृद्धहरू आगो ताप्दै चिसोको गुनासो गर्छन् । “६ दिनदेखि  घाम देखिन पाएको छैन, काम गर्ने जाँगर नै छैन,” मलंगवा -२ का भोला साह भन्छन् ।
   सबैभन्दा बढी असर दैनिक ज्याला मजदुरी गर्ने मजदुर र किसानमा परेको छ । खेतमा काम गर्ने मौसम भए पनि कुहिरो र चिसोले बालीमा औषधि छर्न नसकिएको किसानको गुनासो छ ।    गोडैताका  किसान नाथुराम चौधरीका अनुसार बालीमा चिसोजन्य रोग देखिन थालेको छ । “बाली बचाउने कि ज्यान जोगाउने, दुवै गाह्रो भएको छ,” उनको पीडा छ ।
   चिसोले मानिस मात्र होइन, चौपाया र पन्छीसमेत प्रभावित भएका छन् । गोठभित्र पराल थप्ने, आगो बाल्ने र प्लास्टिकले छोप्ने प्रयास भइरहे पनि कठ्याङ्ग्रिँदो चिसोले किसानलाई हम्मेहम्मे परेको छ ।
    विद्यालय जाने उमेरका बालबालिका र वृद्धवृद्धा शीतलहरका कारण सबैभन्दा जोखिममा छन् । चिसो बढ्दै गएपछि धेरै स्थानीय तहले विद्यालय बन्द गरेका छन् भने परीक्षा चलिरहेका विद्यालयमा विद्यार्थी बाक्लो कपडा लगाएर भए पनि कक्षामा बस्न बाध्य छन् । कतिपय अभिभावकले चिसोका कारण बालबालिकालाई विद्यालय पठाउनै छाडेका छन्।
   बजार र चोकमा मानिसहरू आगो बालेर न्यानो खोजिरहेका छन् । बिहान र साँझ आगो ताप्ने ठाउँ नै अस्थायी जमघटस्थल बनेका छन्, जहाँ चिसो, दैनिकी र राज्यको उपस्थितिबारे गुनासो पोखिन्छ । “न्यानो कपडा नहुँदा रात काट्नै गाह्रो छ,” एक ज्येष्ठ नागरिकको आवाज आगोको झिल्कोसँगै हराउँछ ।
शीतलहरले स्वास्थ्य समस्या पनि बढाइरहेको छ।    चिकित्सकहरूका अनुसार यो समयमा दम, निमोनिया, रुघाखोकी तथा दीर्घरोगीको समस्या झन् जटिल हुन सक्छ । नगर अस्पताल लालबन्दीका कन्सल्टेन्ट फिजिसियन डा. अभिनेषकुमार झा घरभित्रै न्यानो भएर बस्न, सावधानीपूर्वक आगो र हिटर ताप्न तथा झोलिला र ताजा खानेकुरा खान सुझाव दिन्छन्। 
   सरकारी तहबाट अपेक्षित सहयोग ढिलो देखिँदा सामाजिक संघसंस्था र मनकारी व्यक्तिहरू नै चिसो पीडितका सहारा बनेका छन् । विभिन्न ठाउँमा विद्यार्थी, विपन्न, दलित र वृद्धवृद्धालाई लक्षित गरी कम्बल तथा न्यानो कपडा वितरण भइरहेको छ ।
   कठ्याङ्ग्रिँदो चिसोले मधेशको जनजीवन रोकिएजस्तै देखिए पनि आगो ताप्दै बसेका मानिसको आँखामा एउटै आशा छ—घाम लागोस् । तर घाम नलागुन्जेलसम्म यो शीतलहरले मधेशको दैनिकीलाई अझै कठोर बनाइरहने निश्चित छ ।

No comments:

Post a Comment