मधेशको छोरो प्रधानमन्त्री बनाउने अभियान कबिलासीमा ठूलो संख्यामा युवाहरु रास्वपामा प्रवेश
मधेशदूत समाचारदाता----
सर्लाही,पुस १३
सर्लाहीको कबिलासी नगरपालिकासहित जिल्लाभरीमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रतिको आकर्षण तीव्र रूपमा बढ्दै गएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी कबिलासी नगर समितिको आयोजनामा आइतवार सम्पन्न कार्यक्रममा विभिन्न राजनीतिक दल परित्याग गरी झण्डै एक हजार जना युवा तथा नेता–कार्यकर्ता रास्वपामा प्रवेश गरेका छन्।
कार्यक्रममा रास्वपाका नेता तथा निवर्तमान सांसद हरि ढकाल प्रमुख अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो। उहाँले आजसम्म मधेशबाट कोही पनि प्रधानमन्त्री नबनेको उल्लेख गर्दै अब मधेशकै छोरा ‘बालेन’लाई प्रधानमन्त्री बनाउने समय आएको बताउनुभयो। त्यसका लागि युवाहरू खुलेर अगाडि आउनुपर्नेमा उहाँले जोड दिनुभयो। ढकालले युवाको सक्रिय सहभागिताले देशको राजनीतिमा नयाँ आशा र परिवर्तनको संकेत देखिएको भन्दै रास्वपा पुराना दलको विकल्प बनेर उदाएको दाबी गर्नुभयो।
रास्वपा कबिलासी नगर समितिका संयोजक योगेश झाले पुराना दलको नीति, कार्यशैली र नेतृत्वप्रति निराश बनेका युवाहरू परिवर्तनको खोजीमा रास्वपातर्फ आकर्षित भएको जानकारी दिनुभयो। उहाँका अनुसार युवाहरू अब भाषणभन्दा परिणाम खोज्ने राजनीतिमा विश्वास गर्न थालेका छन्।
उल्लेखनीय जनसहभागिता रहेको उक्त कार्यक्रमको सञ्चालन दिवानी घिमिरेले गर्नुभएको थियो। कार्यक्रममा देखिएको भीड र उत्साहले रास्वपाको संगठन विस्तार र प्रभाव दुवै बढ्दै गएको सन्देश दिएको छ।
No comments:
Post a Comment