Translate

Tuesday, December 30, 2025

चिसो बढ्यो बजार तात्यो सर्लाहीका बजारमा न्यानो कपडाको कारोबार फस्टाउँदै

 


मनोज यादव---

सर्लाही,पुस १५

    केही दिनयता घाम नलागी शीतलहर चलेसँगै सर्लाहीमा जाडो एकाएक बढेको छ। बिहानैदेखि चिसो महसुस हुन थालेपछि सदरमुकाम मलंगवासहित जिल्लाका बजारहरू न्यानो कपडा किन्न आउने ग्राहकले भरिन थालेका छन्। जाडो छल्न सर्वसाधारण पसल–पसल चहार्दै ज्याकेट, स्वेटर र टोपी किन्दै गरेको दृश्य अहिले बजारको दैनिकी बनेको छ।
    अघिल्ला वर्षहरूमा दशैं सुरु भएदेखि नै न्यानो कपडाको बिक्री सुरु हुने गर्थ्यो। तर यस वर्ष जाडो ढिलो महसुस भएकाले पुस लागेपछि मात्र यसको माग एकाएक बढेको व्यापारीहरू बताउँछन्। पछिल्लो केही दिनदेखि घाम लाग्न छाडेपछि बिहान र साँझको चिसो झन् कडा बन्दै गएको छ, जसले न्यानो कपडाको आवश्यकता बढाएको छ।
   बजारमा अहिले ज्याकेट, उनी स्वेटर, हाइनेक, हुडी, टोपी, पञ्जा, मोजा, ट्राउजर र जुत्ताको बिक्री बढी भइरहेको मलंगवाका एक रेडिमेड कपडा पसलका संचालक पुरिन्दर महतोलेले बताए । विशेष गरी बालबालिका र वृद्धवृद्धाका लागि न्यानो कपडा खोज्ने ग्राहकको संख्या उल्लेख्य रूपमा बढेको छ।


   मलंगवाकै अर्का एक कपडा व्यापारी राजेश कुशवाहाका अनुसार, “पहिले चिसो नबढ्दा व्यापार सामान्य थियो। तर शीतलहर सुरु भएयता दैनिक ग्राहकहरु बढिरहेका छन्।” बजारमा सस्तोदेखि महँगोसम्मका न्यानो कपडा उपलब्ध भएकाले सबै वर्गका उपभोक्ताले आफ्ना आवश्यकता अनुसार किनमेल गरिरहेका छन्।
   जाडो अझै बढ्ने अनुमानसँगै आगामी दिनमा न्यानो कपडाको व्यापार थप चलायमान हुने अपेक्षा गरिएको छ। शीतलहरले जनजीवन केही कष्टकर बनाइरहे पनि स्थानीय बजारको व्यापारमा भने यसले नयाँ चहलपहल थपेको छ।

No comments:

Post a Comment