उखुको समर्थन मुल्य तोक्न सरकारको ढिलाई तयार भएको उखु काट्ने कि न काट्ने किसानहरु दोधारमा
मधेशदूत समाचारदाता---
सर्लाही,मंसिर १९
सरकारले उखुको समर्थन मूल्य तोक्न ढिलाई गरेपछि किसान मात्र होइन, चिनी मिलबाट आफ्नो पेसा चलाउने उद्योगी समेत अनिश्चयमा परेका छन्। उखु काट्ने मौसमी समय बित्दै गएको छ, तर राज्यको निर्णय नभएका कारण किसानका खेतमा पाकेर बसेको उखु काटिने कि कुहिने भन्ने दोधारमा छ ।
सर्लाहीस्थित इन्दुशंकर चिनी उद्योगले परम्परागत “डोंगा पूजा” सम्पन्न गरेर मिल संचालनको संकेत त दिएको छ, तर मूल्य नतोकिंदा मेसिन चल्ने दिन अझै अनिश्चित छ। मिल धान्ने कारोबार र हजारौँ परिवारको जीविकोपार्जन यही निर्णयमा अड्किएको छ।
धेरै किसानहरूका लागि यो ढिलाइ वर्षभरिको मेहनत खेर जाने खतरा बनेको छ। चार बिघामा उखु उब्जाएका बरहथवा-३ का किसान नन्दु चौरसियाले “मुल्य थाहा नभइ कसरी उखु काट्ने ?” भन्दै चिन्ता व्यक्त गरेका छन् । लागत नै नउठ्ने अवस्था दोहोरिए अर्को वर्ष उखु खेती छोड्न बाध्य हुने उनको दुःखेसो छ।
उखु किसानको मुख्य छाता सङ्गठन नेपाल उखु उत्पादक महासंघले यो सिजन २०८२/८३ का लागि प्रति क्विन्टल ७५० रुपैयाँ समर्थन मूल्य तोक्न माग गरे पनि सरकार भने अझै मौन बसेको छ। महासंघका अध्यक्ष श्यामबाबु रायका अनुसार कृषि मन्त्री र सचिवले पनि मङ्सिर २९ भित्र मूल्य तोक्न समय मागेका छन्।
यसो भएपछि पुस लागेपछि मात्र चिनी मिल चल्न सक्ने प्रष्ट देखिन्छ । किसानको समय, उद्योगीको तयारी र बजारको आवश्यकता सबै सरकारको ढिलाइमा झुण्डिएको छ।
उखु खेती नेपालको महत्त्वपूर्ण नगदे बाली हो, तर वर्षेनि दोहोरिने यस अनिश्चितताले किसानलाई दिएको मनोवैज्ञानिक र आर्थिक दवाव बढ्दै गएको छ। समर्थन मूल्यबारे सरकारको ढिलाइ केवल प्रशासनिक समस्या होइन, किसानको भविष्यमा परेको प्रत्यक्ष प्रहारको रूपमा देखिन थालेको छ।
No comments:
Post a Comment