प्रादेशिक अस्पताल व्यवस्थापन समितिको मनोनयन असंवैधानिक भन्दै मलंगवामा विरोध प्रदर्शन
मनोज यादव---
सर्लाही,मंसिर १८
सर्वोच्च अदालतले वर्तमान मुख्यमन्त्री तथा मन्त्रिपरिषद्लाई दीर्घकालीन वा नीतिगत निर्णय नगर्न आदेश दिएको अवस्थामा प्रदेश सरकारद्वारा गरिएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष तथा सदस्यहरूको मनोनयन असंवैधानिक भएको भन्दै मलंगवा नगर संरक्षण तथा सुधार समितिले बुधबार बिहान विरोध प्रदर्शन गरेको छ।
प्रादेशिक अस्पताल नजिकैको बालमन्दिर चौकमा टायर बालेर सुरु भएको प्रदर्शनपछि समिति र स्थानीयवासीहरू अस्पतालको प्रशासनिक भवन अगाडि पुगेर नाराबाजी गर्दै मनोनयन खारेजीको माग राखेका थिए।
सरकारको यस कदमले न्यायिक आदेशको खुल्लमखुल्ला उल्लंघन भएको समितिको आरोप छ ।
“सर्वोच्च अदालतले स्पष्ट आदेश दिएको अवस्थामा यस्ता मनोनयन गर्नु पूर्ण रूपमा असंवैधानिक र गैरजिम्मेवार निर्णय हो। नियुक्त व्यक्तिहरूले पदभार ग्रहण पनि गर्नु हुँदैन र नगराउन पनि चाहन्छौँ,” समितिका पदाधिकारी चन्दन सिंह राजपुतले भने। उनले मनोनयन तत्काल खारेज नगरे आन्दोलनलाई अझ सशक्त बनाउने चेतावनी दिए।
राजपूतले प्रदेश सरकारलाई विधि–विधान पालना गर्न, जनताको स्वास्थ्य संस्थालाई राजनीतिक हस्तक्षेपबाट जोगाउन र कानुनी मर्यादाभित्र रहेर निर्णयहरू गर्न आग्रह गरे।
समितिले विवादास्पद मनोनयन फिर्ता नलिए थप चरणबद्ध आन्दोलन गर्ने चेतावनी दिएका छन् ।
No comments:
Post a Comment