Translate

Tuesday, December 9, 2025

गाउँ–गाउँमा युवा अभियान प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै कबिलासी–१० का युवा नेता रोविन महतो जनचेतनामूलक संवादमा सक्रिय

  


मनोज यादव---
सर्लाही,मंसिर २४

     सर्लाहीको कबिलासी नगरपालिका–१०, सलेमपुरका युवा नेता रोविन महतो आगामी फाल्गुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै गाउँ–गाउँमा जनचेतनामूलक अभियान संचालन गरिरहेका छन्। ‘सही नेतृत्व चयन’ गर्ने नागरिक जिम्मेवारीलाई प्राथमिकता दिँदै उनले स्थानीय समूदायसँग प्रत्यक्ष संवादमार्फत आफ्नो दृष्टि, योजना र नेतृत्व क्षमताबारे खुला रुपमा राखिरहेका छन्।
   स्वयं युवा उम्मेदवारका रूपमा मैदानमा उत्रिएका महतो ‘आफ्नो गाउँ आफैं बनाउँ’ भन्ने नारासहित जनतामाझ पुगिरहेका छन्। युवा पुस्ताको ऊर्जा, सोच र सिर्जनशीलताले मात्रै स्थानीय विकासमा नयाँ मोड दिन सक्छ भन्ने विश्वास उनी बारम्बार दोहोर्याउँछन्। गाउँ डुलाईका क्रममा उनी स्थानीयवासीहरूसँग भेट्दै दीर्घकालीन योजना, पूर्वाधार विकास, शिक्षा–स्वास्थ्य सुधारदेखि रोजगारी सिर्जनासम्मका एजेन्डा प्रस्तुत गरिरहेका छन्।
  महतोका अनुसार विगतमा निर्वाचित भएर गएका पुराना नेताहरूले जनअपेक्षित काम गर्न नसक्दा आम मतदातामा गहिरो असन्तोष छ। “जनताले मूल्यांकन गरिसकेका छन्।पुरानाले परिवर्तन ल्याउन सकेनन्,” महतो भन्छन्, “अब जिम्मेवारी नयाँ पुस्तालाई दिनुपर्छ, जसले नेतृत्व वहन गर्ने क्षमता पनि राख्छ र समर्पण पनि।” यही सन्देश उनले प्रत्येक बस्तीमा दोहोर्याउँदै जनतामा नयाँ सोचको अपेक्षा जगाइरहेका छन्।
  यही अभियानअन्तर्गत महतोले मंगलबार कौडेना गाउँपालिकाको फुलपरासी, इनर्वा र सक्रौलमा व्यापक जनसम्पर्क तथा संवाद कार्यक्रम सञ्चालन गरेका छन् ।

स्थानीयवासीको सहभागीता र चासोले उनलाई अझ उत्साहित बनाएको छ। यसअघि उनी फुलपरासीमा निशुल्क आँखा जाँच शिविर आयोजना गरेर स्वास्थ्य सेवा पहुँचमा सहयोग पुर्‍याइसकेका छन्, जसले उनलाई सामाजिक सेवाप्रति समर्पित युवा नेताका रूपमा स्थापित गरेको छ। आगामी दिनहरूमा पनि यस्ता जनसरोकारका कार्यक्रम निरन्तर गर्ने प्रतिबद्धता महतोले व्यक्त गरेका छन्।
    उनको सक्रियता र गाउँ–गाउँमा फैलिएको जागरण अभियानले स्थानिय स्तरमा नयाँ विचार जन्माइरहेको छ “अबका चुनावमा युवालाई मौका दिने कि पुरानै ढर्रालाई निरन्तरता दिने?”
यही प्रश्न अहिले राजनीतिक बहसको मुख्य विषय बनेको छ।

No comments:

Post a Comment