प्रतिनिधिसभा सदस्य निर्वाचन : सर्लाही क्षेत्र नं. १ र २ बाट कांग्रेसका उम्मेदवार सिफारिस
मधेशदूत समाचारदाता
सर्लाही, मंसिर २६
आगामी प्रतिनिधिसभा तथा राष्ट्रिय सभा निर्वाचनलाई लक्षित गर्दै सर्लाहीका क्षेत्र नं. १ र २ मा नेपाली कांग्रेसले सर्वसम्मत तथा प्रक्रियागत रूपमा उम्मेदवार सिफारिस प्रक्रिया पूरा गरेको छ।
क्षेत्र नं. १ मा प्रत्यक्षतर्फ हरिपुर-७ निवासी रामचन्द्र चौधरी, लालबन्दी-१३ का शम्भुलाल श्रेष्ठ तथा लालबन्दी-१ की मन्दिरा आचार्यको नाम सिफारिस गरिएको क्षेत्रीय सभापति हरिबहादुर लुङ्गेलीले जानकारी दिए।
समानुपातिकतर्फ भने ईश्वरपुर–८ की सुशीला कार्की र लालबन्दी–२ निवासी इस्किलाल पासवानको नाम सिफारिस भएको छ।
त्यस्तै, क्षेत्र नं. २ मा प्रत्यक्षतर्फ मलंगवा–८ का जयहरि श्रेष्ठ (राजु), ब्रम्हपुरी-३ का सत्यनारायण राउत,कौडेना–२ का डा. सरोज कुमार र हरिपुर्वा–८ का धनमन्तरी यादवको नाम सिफारिस गरिएको क्षेत्रीय सभापति कौशलकिशोर रायले बताए।
समानुपातिकतर्फ मलंगवा–११ का लक्ष्मण राय र हरिपुर्वा–५ की अनिता देवी यादव सिफारिसमा परेका छन्।
राष्ट्रिय सभा सदस्यका लागि ईश्वरपुर–१५ का ब्रम्हनारायण चौधरी र मलंगवाकी सहरुल खातुनको नाम प्रस्ताव गरिएको छ।
यसैबीच क्षेत्र नं. ४ मा भने पार्टीको मापदण्ड विपरीत वर्तमान प्रदेश सांसद वीरेन्द्र प्रसाद सिंहको नाम सिफारिस भएपछि कांग्रेसभित्र आन्तरिक असन्तुष्टि चुलिएको छ। पार्टीभित्र विवाद तीव्र बन्दै गएपछि विषय केन्द्रमा समेत पुगेको बताइन्छ।
उता क्षेत्र नं. ३ मा भने सिफारिस प्रक्रिया बाँकी रहेकाले आज (शुक्रबार) क्षेत्रीय भेला बोलाइएको पार्टी स्रोतले जनाएको छ।
No comments:
Post a Comment