बस व्यवसायी र म्याजिक व्यवसायी बिचको विवाद समाधान नयाँ बसपार्कबाटै दुवै खाले सवारीसाधन सञ्चालन गर्ने प्रशासनको निर्णय
मनोज यादव----
सर्लाही, पुस २
बस व्यवसायी र म्याजिक व्यवसायीबीच उत्पन्न विवाद समाधान गर्दै जिल्ला प्रशासनले दुवै सवारी साधन नयाँ बसपार्कबाटै सञ्चालन गर्ने निर्णय गरेको छ।
प्रमुख जिल्ला अधिकारी रामु राज कडरीयाको अध्यक्षतामा सम्पन्न बैठकले बस र म्याजिक सञ्चालनलाई व्यवस्थित बनाउन स्पष्ट निर्णयहरू गरेको हो। बैठकमा जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी उपरीक्षक योगेन्द्र कुमार खड्का, मलंगवा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत होम प्रसाद घिमिरेलगायत सम्बन्धित निकायका प्रतिनिधि तथा बस र म्याजिक व्यवसायीहरूको सहभागिता रहेको थियो।
बैठकको निर्णयअनुसार अब १५ मिनेटको अन्तरालमा एउटा म्याजिक छुट्नेछ भने बसहरू तोकिएको नियमित समयतालिकाअनुसार सञ्चालन हुनेछन्। राजश्री चौकदेखि दक्षिणतर्फ दुवै सवारी साधन जान नपाउने व्यवस्था गरिएको छ, रिजर्भ सवारी साधन भने यसबाट बाहिर रहनेछन्।
त्यसैगरी, प्रत्येक चौकमा पाँच मिनेटभन्दा बढी सवारी साधन रोक्न नपाइने, क्षमता भन्दा बढी यात्रु बोक्न नपाइने निर्णय गरिएको छ। सवारी सञ्चालनलाई थप व्यवस्थित गर्न जिल्ला ट्राफिक कार्यालयको समन्वयमा समय कार्ड प्रयोग गरिने प्रशासनले जनाएको छ।
बैठकले नवलपुरमा यसअघि बस र म्याजिक व्यवसायीबीच भएको निर्णयलाई समेत कार्यान्वयन गर्ने सहमति गरेको छ। यदि निर्णय कार्यान्वयनका क्रममा कुनै समस्या वा जटिलता देखिएमा प्रशासन वा दुवै व्यवसायीबीचको छलफलमार्फत समाधान गरिने बताइएको छ।
प्रशासनले दुवै पक्षलाई बैठकका सबै निर्णय इमान्दारीपूर्वक पालना गर्न आग्रह गरेको छ। निर्णय कार्यान्वयनपछि मलंगवामा सवारी आवागमन व्यवस्थापन सुधार हुने विश्वास लिइएको छ।
No comments:
Post a Comment