मलंगवामा पचास प्रतिशत अनुदानमा गहुँको बीउ वितरण खेती खर्चमा राहत
मधेशदूत समाचारदाता---
सर्लाही,मंसिर १७
सर्लाहीको सदरमुकाम मलंगवा नगरपालिकाले कृषकहितमा सञ्चालन गरेको गहुँको बीउ वितरण कार्यक्रम अन्तर्गत स्थानीय किसानहरूलाई ५० प्रतिशत अनुदानमा गहुँको बीउ उपलब्ध गराएको छ। नगरपालिका अन्तर्गतका वडाहरुमा आयोजित कार्यक्रममा प्रत्येक किसानलाई ४० किलोको दरले एक-एक बोरा गहुँको बीउ वितरण गरिएको नगरपालिकाले जानकारी दिएको छ।
गहुँको बीउ हस्तान्तरण गरिँदा किसानहरू अत्यन्तै खुसी देखिएका थिए।
वडा न-२ का वडाअध्यक्ष धिरेन्द्र साहका अनुसार बजार मूल्य करिब ३६ सय रुपैयाँ पर्ने गहुँको बीउ अनुदानपछि १८ सय रुपैयाँमा उपलब्ध गराइएको हो। आवश्यक कागजातसहित वडा कार्यालयमा निवेदन दिएपछि बीउ वितरण प्रक्रिया पूरा गरिएको उनले बताए।
अनुदानको बीउ लिनका लागि किसानले नागरिकता प्रमाणपत्रको प्रतिलिपि र जग्गाधनी प्रमाणपत्रको प्रतिलिपी अनिवार्य रूपमा पेश गर्नुपर्ने नगरपालिकाले जनाएको छ।
योजनाबाट लाभान्वित भएका किसानहरूले यो वर्ष खेती खर्चमा ठूलो राहत मिलेको प्रतिक्रिया दिएका छन्।
No comments:
Post a Comment