देवधारी मावि सुन्दरपुरमा ८ कोठे नयाँ भवन उद्घाटन
मधेशदूत समाचारदाता---
सर्लाही, मंसिर १६
सर्लाहीको कौडेना गाउँपालिका–१, सुन्दरपुर बजारस्थित श्री देवधारी माध्यमिक विद्यालयमा सोमबार ८ कोठे नयाँ विद्यालय भवन उद्घाटन गरिएको छ। नवनिर्मित भवनको उद्घाटन मधेश प्रदेशसभा सदस्य एवं निवर्तमान श्रम तथा यातायात मन्त्री कौशल किशोर रायले प्रमुख अतिथिको रूपमा गरेका थिए।
उद्घाटन कार्यक्रममा प्रमुख अतिथिले विद्यालयका जग्गादाता स्व. देवधारीको तस्बिरमा माल्यार्पण गरी रिबन काटेर भवन उद्घाटन गरेका थिए। कार्यक्रममा विशिष्ट अतिथि गाउँपालिका अध्यक्ष रुपेश कुमार (बब्लु), प्रहरी उपरीक्षक योगेन्द्र कुमार खड्का, सशस्त्र प्रहरी उपरीक्षक देवबहादुर चन्द, सहायक प्रमुख जिल्ला अधिकारी शिवहरि पोखरेल, गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुरेश प्रसाद दास लगायत अन्य अतिथिहरूको उपस्थित रहेको थियो।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सरोज राउतको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत दासले संघीय सरकारको ३५ लाख र गाउँपालिकाको ३७ लाख गरी कुल ७२ लाख रुपैयाँको लागतमा भवन निर्माण गरिएको जानकारी दिए। विद्यालयका प्राध्यापक राम किशोर महतोका अनुसार नयाँ भवनले विद्यार्थीहरूको पठनपाठनमा सहजता ल्याएको छ।
उक्त समारोहमा सो विद्यालयका उत्कृष्ट शिक्षक, पालिकाभरीमा एसइई परीक्षामा उच्च जिपिए ल्याएका विद्यार्थी र सहयोगी संस्था तथा व्यक्तिहरूलाई कदरपत्र प्रदान गरिएको थियो। साथै, विभिन्न विद्यालयका छात्र–छात्राहरूले सांस्कृतिक प्रस्तुतिहरूमार्फत समारोहलाई अझ रोचक बनाएका थिए।
गाउँपालिका अध्यक्ष रुपेश कुमारले समारोहमा विद्यालय र पालिकाभरीका विद्यार्थीहरूको शैक्षिक तथा सांस्कृतिक विकासका लागि नयाँ योजनाहरू घोषणा गर्दै, देवधारी माविका लागि जग्गा प्रदान गर्ने जग्गादाताको सालिकसहित मन्दिर निर्माण, उच्च जिपिए ल्याउने विद्यार्थीलाई उच्च शिक्षाको लागि नगद सहयोग , विद्यार्थीहरूको कला तथा सांस्कृतिक विकासका लगायत अन्य विभिन्न महत्त्वपूर्ण योजनाका लागि बजेट छुट्याउने बताए।

No comments:
Post a Comment