खुटौनामा निःशुल्क आँखा शिविर, ७४ जनाको मोतियाबिन्दु अपरेसन हुने
मधेशदूत समाचारदाता---
सर्लाही ,मंसिर २९
मलंगवा नगरपालिका स्वास्थ्य शाखाको आयोजनामा मलंगवा नगरपालिका वडा नं. ६ खुटौनामा एकदिने निःशुल्क आँखा शिविर सम्पन्न भएको छ। खुटौना स्वास्थ्य चौकीमा आयोजित उक्त शिविरमा ३१२ जना नागरिकको निःशुल्क आँखा परीक्षण गरिएको थियो।
परीक्षणका क्रममा ७४ जना बिरामीमा मोतियाबिन्दु देखिएकाले उनीहरूको शल्यक्रिया आवश्यक रहेको स्वास्थ्य शाखाले जनाएको छ। ती बिरामीहरूको अपरेसन मंगलबार मलंगवा नगरपालिका वडा नं. ८ स्थित आँखा उपचार केन्द्रमा गरिने स्वास्थ्य शाखा प्रमुख विष्णुकान्त साहले जानकारी दिए।
शिविरको उद्घाटन मलंगवा नगरपालिकाका नगरप्रमुख नागेन्द्र प्रसाद यादवले गरेका थिए। कार्यक्रममा वडा नं. ६ का वडा अध्यक्ष राम कैलाश यादवको अध्यक्षता रहेको थियो।
शिविर सञ्चालनमा नेपाल नेत्र ज्योति संघ, लहान आँखा तथा कान उपचार प्रणाली सगरमाथा चौधरी आँखा अस्पताल लहान तथा सर्लाही आँखा केन्द्र मलंगवाको प्राविधिक सहयोग रहेको थियो।
स्थानीय स्तरमै आँखा जाँच तथा उपचार सेवा उपलब्ध भएपछि खुटौना र आसपासका बासिन्दाहरू प्रत्यक्ष रूपमा लाभान्वित भएका छन्।
No comments:
Post a Comment