सर्लाही –३ मा लोसपा नेपालका युवा नेता रामेश्वर राय नयाँ विकल्पका रूपमा उदाउँदै
मधेशदूत समाचारदाता----
सर्लाही, मंसिर २८
आगामी प्रतिनिधि सभा निर्वाचन–२०८२ नजिकिँदै जाँदा सर्लाही क्षेत्र नम्बर ३ मा नयाँ पुस्ताको नेताको खोजी तीव्र बन्दै गएको छ। यही क्रममा क्षेत्र न-३ मा बसबरिया गाउँपालिका-५, धनगढाबाट विद्यार्थी जीवनदेखि नै राजनीति सँगसँगै सामाजिक सेवामा पनि सक्रिय भएका युवा रामेश्वर राय यादव यस क्षेत्रका जनताको लागि ‘काम गर्ने’ नेताका रूपमा उदाउँदै गएका छन्।
कतिपय राजनीतिक दलमा पुरानै अनुहारलाई पुनः अघि सार्ने चर्चा भइरहँदा सर्लाही निर्वाचन क्षेत्र न-३ मा भने स्थानीयवासीले रायलाई वैकल्पिक नेतृत्वका रूपमा अघि बढाउन थालेका छन्। यतिबेला उनी आफ्नो क्षेत्रका जनताहरुको घरदैलोमा पुगेर प्रत्यक्ष भेटघाट र जनसम्वादमा लागेका छन् ।
जनसंवादका क्रममा रायले आफू समाजसँगै हुर्किएको र समाजको विकासलाई नै आफ्नो मुख्य लक्ष्य बनाएको बताउँदै चुनावमा साथ पाए क्षेत्रको समग्र विकासका लागि योजनाबद्ध र मिहिन ढंगले काम गर्ने प्रतिबद्धता व्यक्त गर्दै आएका छन्। समाजसेवा, समस्या समाधान र जनसम्पर्कमा केन्द्रित उनका गतिविधिले ३ नम्बर क्षेत्रका गाउँ, बस्ती र बजारमा चर्चा पाएको छ।
उनले अबको राजनीति भाषणभन्दा व्यवहारमा आधारित हुनुपर्ने धारणा सार्वजनिक रूपमा राख्दै आएका छन्।
यतउनी ग्रामीण भेगका बजारलाई व्यवस्थित र आधुनिक बनाउने, कृषिलाई व्यवसायीक र प्रविधिकरण गर्ने, शिक्षा र स्वास्थ्य सेवामा सहज पहुँच विस्तार गर्ने,भ्रष्टाचार मुक्त निर्माण गर्ने,कृषि क्षेत्रको विकासको लागि विशेष प्याकेजहरु ल्याउने,युवाहरुलाई आफ्नै गाउँ ठाउँमा रोजगारको व्यवस्था गर्ने,व्यवसायीक तथा प्राविधिक तालिमको नि:शुल्क व्यवस्था गर्ने लगायतका योजनाहरु लिएर जनताको घरदैलोमा पुगिरहेका छन् ।
विद्यार्थी जिवनदेखिनै समाजसेवा तथा राजनितीमा सक्रिय रहँदै आएका राय तत्कालीन गजेन्द्रनारायण सिंह नेतृत्वको नेपाल सदभावना पार्टीको भातृ संगठन नेपाल विद्यार्थी मञ्चको इकाई कमिटी,क्याम्पस इकाई कमिटी ,जिल्ला कार्यसमिति ,केन्द्रीय कार्यसमिति हुँदै पार्टीको महासचिव ,उपाध्यक्ष र केन्द्रीय अध्यक्षसम्मको पद सम्हालिसकेका छन् ।
वर्तमानमा उनी लोकतान्त्रिक समाजवादी पार्टी नेपालको केन्द्रीय सचिवको रुपमा राजनीतिमा सकृय छन् । प्रतिनिधि सभा सदस्य पदको लागि पार्टीले उनको नाम प्रस्तावित उमेदवारको रुपमा अगाडी बढाएको रायले जनाएको छ।
जेन–जी आन्दोलनपछि देशभर युवा नेतृत्वको माग बढिरहेका बेला सर्लाहीमा पनि नयाँ सोच र नयाँ पुस्ताप्रतिको अपेक्षा तीव्र बनेको छ।
No comments:
Post a Comment