सर्लाहीबाट फरार गाँजा तश्कर काठमाडौंमा पक्राउ, जेल चलान
मधेसदूत समाचारदाता
सर्लाही, पुस १०
प्रतिबन्धित लागुऔषध गाँजा तश्करी मुद्दामा संलग्न रहेका सर्लाहीका एक फरार प्रतिवादी काठमाडौंबाट पक्राउ परेका छन्। प्रहरीले उनलाई जिल्ला अदालत सर्लाहीलाई बुझाएको छ।
प्रहरीका अनुसार, बैशाख ३ गते राति लालबन्दी नगरपालिका–११ स्थित शुशिल चौधरीले चलाएको ना २० च १७८२ नं. बलेरो पिक-अप गाडीबाट २४५.२०० किलो गाँजा बरामद भएको थियो। त्यसपछि जेठ ५ गते राति सोही पालिकाको वडा नं–१४, डायनि खोलाको बगरबाट बिआर ३२ एएन ०८७१७ नं. सेतो स्कारपियो गाडीबाट ११२.७८ किलो गाँजा फेला परेको थियो।
सोही मुद्दामा संलग्न फरार प्रतिवादी, लालबन्दी नगरपालिका–१४, नारायणखोला बस्ने ३५ वर्षीय भिम ब. वाईबालाई इलाका प्रहरी कार्यालय लालबन्दीले प्रहरी वृत्त सिंहदरबार काठमाडौंसँग समन्वय गरी सोमबार काठमाडौंबाट पक्राउ गरेको हो।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार, अदालतले उनलाई पुर्पक्षका लागि जिल्ला कारागार सर्लाही पठाएको छ।
No comments:
Post a Comment