Translate

Wednesday, December 24, 2025

रोहुवाका किसानलाई राहत: जलेको उखु चिनी उद्योगले किनिदिने

 


मनोज यादव---

सर्लाही, पुस ९

   सर्लाहीको गोडैता नगरपालिका–४ रोहुवामा आगलागीबाट जलेको उखु किसानका लागि ठूलो चिन्ता बनेको थियो। तर स्थानीय चिनी उद्योगहरूले जलेको उखु किनिदिने निर्णय गरेपछि किसान खुशी भएका छन्।
   मंगलबार  साँझ जिल्ला प्रशासन कार्यालय सर्लाहीमा भएको बैठकमा इन्दुशङ्कर चिनी उद्योग हरिवन र महालक्ष्मी चिनी उद्योग बगदह(गोडैता) का प्रतिनिधिहरूले आगलागीले क्षति पुगेको उखु खरिद गर्ने सहमति जनाए। बैठकमा गोडैता नगरपालिकाका प्रमुख देवेन्द्र यादव, सुरक्षा प्रमुख, किसान प्रतिनिधि र पीडित किसानहरू सहभागी थिए।
   गोडैताका नगरप्रमुख यादवका अनुसार जलेको उखुमा रस कति छ भनेर ल्याबमा परीक्षण गरेर मात्रै मूल्य निर्धारण गरिनेछ। उद्योगका प्रतिनिधिहरूले पनि परीक्षण पछि किसानलाई मूल्य दिने बताएका छन्।
  प्रारम्भिक रूपमा ५० बिघाको उखु जलेको अनुमान थियो भने पछिल्लो सर्वेक्षणमा करिब २५ बिघा उखु क्षति भएको पाइएको छ। बुधबार  प्रहरीले पनि घटनास्थलमा गएर थप विवरण संकलन गर्ने निर्णय भएको छ।


    मधेश प्रदेशका मुख्यमन्त्री कृष्ण प्रसाद यादवले आगलागी प्रभावित उखु खेतीको निरीक्षण गर्दै, नेपाल सरकारले तोकेको मूल्यमा चिनी उद्योगले खरिद गर्ने र बाँकी रकम प्रदेश सरकारले उपलब्ध गराउने आश्वासन दिएका थिए। 
   पीडित किसानहरुले कृषि तथा पशुपन्छी विकास मन्त्रालयसम्म आफ्नो गुनासो पुर्याएपछि विभागको टोलीले समेत आगलागी भएको उखु खेतीको अनुगमन गरेर काठमाडौं  फर्किसकेका छन् । 
   किसानहरूले जलेको उखु बेच्ने वातावरण बनेकोमा राहत महसुस गरेका छन्।


No comments:

Post a Comment