बुढ्यौली साहित्य समाज रौतहट–सर्लाहीको नयाँ नेतृत्व चयन, सात जिल्लाका साहित्यकारको सहभागिता
मधेशदूत समाचारदाता—
सर्लाही, १० पुस
बुढ्यौली साहित्यको प्रवर्द्धन र संस्थागत विकासलाई लक्ष्य गर्दै बुढ्यौली साहित्य समाज रौतहट–सर्लाहीको प्रथम अधिवेशन सर्लाहीको बागमती नगरपालिकामा बिहीबार सम्पन्न भएको छ।
बागमती नगरपालिका स्थित श्री ५ महेन्द्र जनता माध्यमिक विद्यालय, कर्मैयामा आयोजित अधिवेशनले साहित्यकार तथा प्राध्यापक घनश्याम पन्तको अध्यक्षतामा ११ सदस्यीय कार्य समिति सर्वसम्मत रूपमा चयन गरेको हो।
नवनिर्वाचित कार्य समितिको उपाध्यक्षमा रेणु गुप्ता, सचिवमा किसुनदयाल यादव, कोषाध्यक्षमा रामप्रसाद आचार्य चयन भएका छन्। त्यसैगरी सदस्यहरूमा मीना देवकोटा, टङ्क उप्रेती, मुकेशकुमार मिश्र, केदार सिग्देल, अर्जुन थापा र लक्ष्मी श्रेष्ठ रहेका छन्।
अधिवेशनसँगै सम्पन्न ११ औँ साहित्यिक श्रृङ्खला वाचन कार्यक्रममा बुढ्यौलीसँग सम्बन्धित कविता, कथा र संस्मरणलगायत विभिन्न विधाका रचनाहरू वाचन गरिएको थियो। कार्यक्रममा जीवनको उत्तरार्धका अनुभूति, सामाजिक यथार्थ र मानवीय संवेदनालाई केन्द्रमा राखेर सिर्जना प्रस्तुत गरिएका थिए।
बुढ्यौली साहित्य समाज मधेश प्रदेशका अध्यक्ष लम्वोदर काफ्लेका अनुसार कार्यक्रमले बुढ्यौली साहित्यलाई साझा मञ्च उपलब्ध गराउनुका साथै साहित्यकारहरूबीच सृजनात्मक संवादलाई थप सुदृढ बनाएको छ।
अधिवेशनकै अवसरमा बागमती निवासी वरिष्ठ बुढ्यौली साहित्यकार रमेशमोहन अधिकारी तथा समाजसेवी रमेशकुमार निरौलालाई सम्मान गरिएको थियो।
साहित्यकार शालिग्राम शर्मा पौडेलको प्रमुख आतिथ्यतामा सम्पन्न प्रथम अधिवेशन एवं ११ औँ साहित्यिक श्रृङ्खला वाचन कार्यक्रममा सर्लाहीसहित विभिन्न सात जिल्लाका बुढ्यौली साहित्यकारहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
No comments:
Post a Comment