Translate

Thursday, December 25, 2025

परम्परागत परालको चटाइ विस्थापित, प्लास्टिक चटाइको बढ्दो प्रयोग/ गाउँघरको सीप संकटमा

 



मनोज यादव—
सर्लाही, पुस १०

   गाउँघरको दैनिकीसँग गाँसिएको परालको सुकुल–चटाई बुन्ने परम्परागत कला पछिल्ला वर्षहरूमा तीव्र रूपमा लोप हुने अवस्थामा पुगेको छ। कहिल्यै नछुट्ने घरेलु सामग्रीका रूपमा प्रयोग हुँदै आएको परालको सुकुल–चटाईको स्थान अहिले बजारमा सजिलै पाइने रेडिमेड प्लास्टिकका चटाइले लगभग पूरै लिइसकेका छन्।
   पहिले जाडो याम सुरु हुनासाथ गाउँका आँगन–आँगनमा पराल सुकाउने, त्यसलाई सुकुल वा चटाईका रूपमा बुन्ने दृश्य सामान्य हुन्थ्यो। महिलाहरू फुर्सदको समयमा घरमै बसेर सुकुल बुन्थे र त्यसैमा परिवारका सदस्यहरू बस्ने, सुत्ने तथा पाहुनालाई बसाल्ने चलन थियो। विवाह, भोजभतेर, धार्मिक अनुष्ठान र सामाजिक कार्यक्रमहरूमा परालको सुकुल अनिवार्यजस्तै मानिन्थ्यो।
    तर अहिले बजारमा सहजै किन्न पाइने, रंगीन र हलुका रेडिमेड प्लास्टिकका चटाइले परालको सुकुललाई विस्थापित गर्दै लगेका छन्। टिकाउ देखिने, सफा गर्न सजिलो र कम मूल्यमा उपलब्ध हुने भएकाले धेरै घरधुरी प्लास्टिकका चटाइतर्फ आकर्षित भएका छन्। यसले गर्दा परालको सुकुल बुन्ने सीप प्रयोगमै नआउने र बिस्तारै बिर्सिँदै जाने अवस्थामा पुगेको छ।
   स्थानीय बुढापाकाहरूका अनुसार परम्परागत सीप पुस्तान्तरण नहुनु यसको अर्को ठूलो कारण हो। “पहिले आमाले छोरीलाई सुकुल बुन्न सिकाउनुहुन्थ्यो, अहिले त रेडिमेड चटाइ किन्दा सजिलो भएपछि कसैले सिक्नै चाहँदैन,” एक स्थानीय वृद्धाले भनिन्। उनका अनुसार परालको सुकुल प्राकृतिक, स्वास्थ्यका लागि उपयुक्त र चिसो कम लाग्ने भए पनि त्यसको महत्व घट्दै गएको छ।
   युवा पुस्ता मेहनत धेरै र आम्दानी न्यून हुने यो पेशातर्फ आकर्षित नहुनु, बजार अभाव र सरकारी–स्थानीय तहको संरक्षण नहुनुले पनि परालको सुकुल–चटाई बुन्ने कला संकटमा परेको जानकारहरूको भनाइ छ।
   परम्परागत सीप, संस्कृति र गाउँको पहिचान जोगाउन परालको सुकुल–चटाईलाई साना उद्योगका रूपमा विकास, तालिम र बजार व्यवस्थापन आवश्यक रहेको उनीहरू बताउँछन्। नत्र भने रेडिमेड प्लास्टिकका चटाइको बढ्दो प्रयोगसँगै गाउँघरको यो मौलिक कला केही समयमै इतिहासमा मात्र सीमित हुने देखिन्छ।

No comments:

Post a Comment