Translate

Tuesday, December 30, 2025

बाल कल्याण समाजको पहलमा अभावग्रस्त बालबालिकालाई ज्याकेट वितरण



मधेशदूत समाचारदाता
सर्लाही, पुस १५

   जेसिज माध्यमिक विद्यालय मलंगवाको सहयोगमा बाल कल्याण समाज सर्लाहीले अभावग्रस्त बालबालिकालाई न्यानो ज्याकेट वितरण गरेको छ।
   सोमबार मलंगवा नगरपालिका वडा नं. ९ स्थित श्री प्राथमिक विद्यालयमा अध्ययनरत १२ जना विपन्न बालबालिकालाई बाल कल्याण समाज सर्लाहीका अध्यक्ष तथा सामाजिक अभियन्ता सुन्दर श्याम रायको पहलमा ज्याकेट वितरण गरिएको विद्यालयका प्रधानाध्यापक सन्तोष कर्णले जानकारी दिए।
   केही दिनदेखि तराई–मधेश क्षेत्रमा बढ्दै गएको शीतलहरका कारण जनजीवन प्रभावित भएको र त्यसको असर बालबालिकाको स्वास्थ्य तथा पठनपाठनमा परेकाले सहयोग गरिएको अध्यक्ष रायले बताए। ज्याकेट वितरणले बालबालिकालाई चिसोबाट हुने रोगबाट जोगाउनुका साथै अध्ययनलाई निरन्तरता दिन सहयोग पुग्ने विश्वास गरिएको छ।


   विश्वकै कम क्षेत्रफलमा प्रविधिमैत्री तथा अंग्रेजी माध्यममा सञ्चालन भइरहेको दाबी गरिएको उक्त विद्यालयमा शैक्षिक सत्र २०८१ मा प्रधानाध्यापकका रूपमा सन्तोष कर्ण आएपछि विद्यार्थी संख्या उल्लेखनीय रूपमा वृद्धि भएको छ। डेढ वर्षको अवधिमा विद्यालयमा बालविकासदेखि एल.के.जीसम्म गरी जम्मा विद्यार्थी संख्या १८० पुगेको विद्यालयले जनाएको छ।
   कार्यक्रममा जेसिज माध्यमिक विद्यालयका प्रधानाध्यापक भोला भट्टले प्रधानाध्यापकको लगनशीलता, शिक्षकको मेहनत र सामूहिक प्रयासले सामुदायिक विद्यालयको गुणस्तर सुधार गर्न सकिने बताए। उनले विद्यालयबाट सिफारिस गरिएका गरिब, जेहेन्दार तथा लगनशील विद्यार्थीलाई निःशुल्क अध्ययनको व्यवस्था गर्ने प्रतिबद्धता व्यक्त गरे।
   ज्याकेट वितरण कार्यक्रममा जेसिज माध्यमिक विद्यालयका प्रधानाध्यापक भोला भट्ट, लेखापाल ईश्वरी श्रेष्ठ, श्री प्राथमिक विद्यालयका प्रधानाध्यापक सन्तोष कर्ण, शिक्षक तथा विद्यार्थीहरूको उपस्थिति रहेको थियो।


No comments:

Post a Comment