अपाङ्गता भएका महिला र किशोरीहरूको सशक्तिकरणका लागि ‘IGNITE परियोजनाको परिचयात्मक कार्यक्रम सम्पन्न
मधेशदूत समाचारदाता
सर्लाही ,कात्तिक २४
अपाङ्गता भएका महिला, बालबालिका र किशोरीहरूको न्यायमा सहज पहुँच र समावेशी शासनको प्रवर्द्धन गर्ने उद्देश्यसहित ‘नेपालका अपाङ्गता भएका महिला तथा किशोरीहरूका लागि रुपान्तरित वातावरण (IGNITE) परियोजनाको परिचयात्मक कार्यक्रम आइतवार मलंगवा नगरपालिकाको सभाहलमा सम्पन्न भएको छ।
कार्यक्रमको आयोजना मुक्ति नेपाल, सिरहाले गरेको हो। उक्त कार्यक्रममा मुक्ति नेपालकी अध्यक्ष देवकुमारी महराको अध्यक्षता तथा मलंगवा नगरपालिकाकी उपप्रमुख शकुन्तला देवी साहको प्रमुख आतिथ्य रहेको थियो।
अध्यक्ष महराका अनुसार यो परियोजनाले अपाङ्गता भएका महिला, बालबालिका र किशोरीहरूका लागि न्यायमा पहुँच र अवसर सुनिश्चित गर्न रुपान्तरित र सहज वातावरण निर्माण गर्नेछ।मुक्ति नेपालले लामो समयदेखि लैंगिक विभेदमा आधारित हिंसाको विरुद्ध वकालत गर्दै आएको र अब यो परियोजनामार्फत अपाङ्गता भएका महिलाहरूको अधिकार सुनिश्चिततामा ठोस योगदान पुर्याउने उनले बताए
महराका अनुसार, IGNITE परियोजना चार वर्षको अवधिका लागि सञ्चालन हुनेछ, जसअन्तर्गत मधेश प्रदेशका ३७ वटा स्थानीय तहहरूमा कार्यक्रम सञ्चालन हुनेछ। सर्लाही जिल्लामा यो परियोजना मलंगवा नगरपालिका, हरिवन नगरपालिका, ब्रम्हपुरी गाउँपालिका र चन्द्रनगर गाउँपालिकामा कार्यान्वयनमा ल्याइनेछ।
कार्यक्रममा विभिन्न वडाका वडाअध्यक्षहरू, नगरपालिकाका विषयगत कर्मचारी, संघ–संस्थाका प्रतिनिधि तथा पत्रकारहरूको सहभागिता रहेको थियो। सहभागीहरूले अपाङ्गता भएका व्यक्तिहरूका अधिकार सुनिश्चित गर्न स्थानीय तह, सरोकारवाला निकाय र समुदायबीच सहकार्य तथा नीतिगत समन्वय अपरिहार्य रहेको धारणा राखेका थिए।
No comments:
Post a Comment