Translate

Sunday, November 9, 2025

नेपाल–भारत सीमा बन्द हुँदा भारतीय बजार सुनसान, मलंगवामा भने बढ्यो चहलपहल



मनोज यादव---
सर्लाही, कात्तिक २३

   भारतको बिहार राज्यमा हुने दोस्रो चरणको विधानसभाको निर्वाचनलाई लक्षित गर्दै नेपाल–भारत सीमाक्षेत्रमा सुरक्षा सतर्कता कडाइ गरिएको छ। यसै क्रममा सर्लाही जिल्लाका प्रमुख नाकाहरू मलंगवा, संग्रामपुर, फेन्हारा र बलरा शनिवार बिहानदेखि तीन दिनका लागि पूर्णरूपमा बन्द गरिएका छन्।
    - भारतीय बजारमा सन्नाटा, पसलहरूमा ग्राहक शून्य
    सीमा बन्दको प्रत्यक्ष असर सिमावर्ती भारतीय बजारमा परेको छ। सोनवर्षा, हनुमान मन्दिर चौक, कन्हौली, मेजरगंजलगायत क्षेत्रका बजारहरूमा शनिवारदेखि सन्नाटा छाएको छ।
    हनुमान मन्दिर चौकका किराना व्यापारी पप्पु कुमारका अनुसार, “सधैं नेपाली ग्राहकले बजारमा भीड हुने गर्छ, तर आज बिहानैदेखि चौक सुनसान छ। सुरक्षाकर्मीले नाकाबाटै नेपालीहरूलाई फर्काएपछि व्यापार ठप्प बनेको छ।”
  त्यस्तै, अर्का एक फलफुल व्यापारी राजगिर रायले भने, “हामीहरुको पसलमा सबैभन्दा बढी ग्राहक नेपालतर्फबाट आउँछन्। नाका बन्द भएपछि पसल खुले पनि किनमेल गर्ने कोही छैन।”


     -सोनवर्षा बजार पनि सुनसान
मलंगवा र त्रिभुवननगरसँग जोडिएको मुख्य सोनवर्षा बजार पनि शनिवारदेखि पूर्णरूपमा शान्त बनेको छ। स्थानीय कपडा व्यापारी पुरेन्द्र महतोका शब्दमा, “नेपालका ग्राहक बिना हाम्रो बजार चल्दैन। अहिले तीन दिनको लागि बजार पूर्ण रूपमा सुस्ताएको छ।”
औषधि, कपडा र दैनिक उपभोग्य वस्तुका पसलहरूमा ग्राहक नदेखिएपछि व्यापारीहरू चिन्तित छन्।
      - मजदुर र यात्रुहरू अलपत्र
  बन्दको प्रभाव  मजदुर र यात्रुहरूमा पनि परेको छ।  भारतका गाउँहरूबाट दैनिक ज्यालादारीमा काम गर्न मलंगवा आउने मजदुरहरू नाकामै रोकिएका छन्।
यसले मजदुर मात्र नभई उनीहरूले काम गर्दै आएका साहू–ठेकेदारहरूको काम पनि ठप्प बनाएको छ।
त्यस्तै, आफन्तकोमा गएका सर्वसाधारण पनि सीमापार गर्न नपाएर उतै रोकिएका छन्। सर्लाहीका अधिकांश बासिन्दाहरुको आफन्त भारतमा र भारतका बासिन्दाहरुको सर्लाही, महोत्तरी ,रौतहट लगायतका सिमावर्ती जिल्लाहरुमा रहेकाले उनीहरू बिचको प्रत्यक्ष भेटघाटको सम्बन्ध टुटेको छ। मोबाइलबाटै उनीहरू एकअर्कासँग सम्पर्क स्थापित गर्न बाध्य छन् ।


    नेपालतर्फको बजारमा उल्टो माहोल
बोडर सिलका कारण भारतीय बजार सुनसान भए पनि नेपालतर्फका बजारहरूमा भने केही चहलपहल बढेको देखिन्छ। सामान्यतया किनमेलका लागि भारत पस्ने नेपाली उपभोक्ता अहिले यतैको बजारमा किनमेल गर्न थालेका छन्।
  मलंगवाका एक व्यापारीले भने, “भारतद्वारा आवतजावतमा लगाइएको कारण नेपाली ग्राहक यहीँ किनमेल गर्न आएका छन्, जसले गर्दा बजारमा केही चहलपहल बढेको छ।”
    सुरक्षा सतर्कता तीन दिनसम्म
सुरक्षा निकायका अनुसार बिहारमा निर्वाचन सम्पन्न नहुन्जेल सीमामा आवतजावत पूर्ण रूपमा रोकिएको छ। सर्लाहीका प्रमुख नाकाहरूमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र सशस्त्र भारतीय सुरक्षा बल (SSB) ले संयुक्त रूपमा कडाइका साथ निगरानी गरिरहेका छन्।

    

No comments:

Post a Comment