Translate

Sunday, November 9, 2025

पुरानो बक्यौता नपाएपछि उखु किसानहरुले गरे अन्नपूर्ण सुगर मिल्स धनकौलमा तालाबन्दी

 




“अब हामीलाई कागजको आश्वासन होइन, खातामा पैसा चाहिएको छ।”


मनोज यादव---
सर्लाही, कात्तिक २४

   सर्लाहीको धनकौल गाउँपालिकामा रहेको अन्नपूर्ण सुगर मिल्सले वर्षौँदेखि किसानको उखु बक्यौता रकम नदिएपछि किसानहरू पुनः आन्दोलित भएका छन्। आइतबारदेखि किसानहरूले उद्योगको मुख्य गेटमा तालाबन्दी गर्दै अनिश्चितकालीन धर्ना सुरु गरेका छन्।
    उखु किसानका अगुवा तथा धनकौल गाउँपालिका निवासी राम आधार राय यादवका अनुसार आर्थिक वर्ष २०७०/७१ देखि हालसम्म उद्योगले करिब नौ करोड ७० लाख रुपैयाँ बक्यौता भुक्तानी गरेको छैन। उनले भने, “२०७४ सालमै उखु बिक्री गरेँ, तर अहिलेसम्म पैसा पाएका छैनौँ। हरेक वर्ष उद्योगले आश्वासन मात्र दिन्छ, तर कार्यान्वयन हुँदैन।”
  किसानहरूले पटक–पटक जिल्ला प्रशासन कार्यालय सर्लाहीमा उजुरी गर्दै आएका छन्। अन्ततः २०८० फागुन ६ मा प्रशासनको पहलमा भएको छलफलमा उद्योगका प्रतिनिधि र किसानबीच सहमति भएको थियो।
उक्त सहमतिअनुसार २०८१ जेठ मसान्तसम्म सम्पूर्ण भुक्तानी गर्ने निर्णय भएको थियो। तर किसानका अनुसार उद्योगले अझैसम्म उक्त सहमति कार्यान्वयन गरेको छैन।
   किसानहरूले अहिले उद्योगमाथि केवल भुक्तानी नदिएको मात्र होइन, वातावरण प्रदूषण फैलाएको आरोप पनि लगाएका छन्।
उनीहरूका अनुसार उद्योगले बॉयलरमा फिल्टर नलगाएकाले हावामा धुलो र खरानी निस्केर आसपासका बस्तीमा फैलिँदै आएको छ।


स्थानीयवासीको आँखामा खरानी परेर समस्या देखिन थालेको र स्वास्थ्यमा समेत असर पर्न थालेको उनीहरूको गुनासो छ।
“पसिनाले सिंचेका उखु बेच्दा पनि पैसा पाउन संघर्ष गर्नुपरेको छ। अब त उद्योगको धुवाँले पनि स्वास्थ्य बिगार्न थालेको छ,” एक किसानले भने।
   उता उद्योगका प्रशासकीय प्रमुख रमेशप्रसाद श्रीवास्तवले भने, पुरानो भुक्तानी सम्बन्धी मुद्दा अहिले सर्लाही जिल्ला अदालतमा विचाराधीन रहेको बताए। 
    उनका अनुसार उद्योगको स्वामित्व २०७७ सालमा पुरानो मालिक राकेश अग्रवालबाट नयाँ मालिक शैलेन्द्र गुप्ताले खरिद गरेपछि पुरानो र नयाँ व्यवस्थापनबीच जिम्मेवारीको विवाद उत्पन्न भएको हो। गत वर्षको भुक्तानी बाँकी रहनुका कारणबारे उनले भने, “मूल्य निर्धारण नभइकन मिल सञ्चालन गरिएको थियो र उखुबाट रिकभरी पनि कम आएकाले किसानलाई भुक्तानी दिन समस्या परेको हो।”
   तर किसानहरूले भने कुनै कानुनी विवादको नाममा किसानलाई अल्झाउन नहुने भन्दै तत्काल भुक्तानीको माग गरेका छन्।
उनीहरूले चेतावनी दिएका छन् , यदि तत्काल बक्यौता रकम र वातावरणीय समस्या समाधान भएन भने आन्दोलनलाई अझ सशक्त बनाइनेछ।
  उद्योगको गेटअगाडि धर्नामा बसेका पिडित किसानहरूले भने, “अब हामीलाई कागजको आश्वासन होइन, खातामा पैसा चाहिएको छ।”


No comments:

Post a Comment