Translate

Sunday, November 9, 2025

उपप्रमुखको अगुवाइमा वडाअध्यक्षहरु द्वारा मलंगवा नगरपालिकामा अनिश्चितकालीन तालाबन्दी नगरपालिकाभित्र बिचौलियाको चलखेल रोक्नुपर्ने लगायत दस बुँदे माग

 



मधेशदूत समाचारदाता
सर्लाही, कात्तिक २४

   सर्लाहीको मलंगवा नगरपालिका कार्यालयमा आइतवारदेखि उपप्रमुख शकुन्तला देवी साहको अगुवाइमा वडाध्यक्षहरूले संयुक्तरूपमा  अनिश्चितकालीन तालाबन्दी सुरु गरेका छन् ।
१० बुँदे मागसहित सुरु गरिएको तालाबन्दीका क्रममा स्वास्थ्य र राजस्व शाखा बाहेक नगरप्रमुख र प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षलगायत अन्य सबै शाखाहरू बन्द गरिएको हो।
   आन्दोलनरत उपप्रमुख र वडाध्यक्षहरूले ज्येष्ठ नागरिक, एकल महिला, अपाङ्गता भएका व्यक्ति र बालबालिकाका लागि सामाजिक सुरक्षा भत्ता तत्काल निकासा गर्नुपर्ने, शिक्षक तथा कर्मचारीको तलब वितरण गर्नुपर्ने, नगरपालिकाभित्र बिचौलियाको चलखेल रोक्नुपर्ने लगायतका माग अघि सारेका छन्।
   यसअघि उपप्रमुख र वडाध्यक्षहरूले संयुक्त रूपमा विज्ञप्ति जारी गर्दै नगरपालिकाको कामकाज एकपक्षीय रूपमा केही व्यक्तिहरूको इसारामा सञ्चालन भइरहेको आरोप लगाएका थिए। उनीहरूले तीन दिनभित्र माग सम्बोधन नभए तालाबन्दी गर्ने चेतावनी दिएका थिए, जुन चेतावनीअनुसार अनिश्चितकालीन तालाबन्दी गरिएको हो।


   तालाबन्दीमा उपप्रमुख साहसँगै वडा नं. १ का नवलकिशोर राय, वडा नं. २ का धिरेन्द्र साह, वडा नं. ३ का प्रमोद राय यादव, वडा नं. ५ का मो. जुलफ फकार अली, वडा नं. ६ का राम कैलाश राय, वडा नं. ७ का मो. ईशा मिकरानी, वडा नं. ८ का मुकेश कुमार जयसवाल, वडा नं. ९ का चन्देश्वर राय, वडा नं. १२ का रामदरेश राय र कार्यपालिका सदस्य जसिया देवीको सहभागिता रहेको छ।
   वडाध्यक्षहरूले नगरभित्रका अनियमितता, जनगुनासो र प्रशासनिक अव्यवस्थाको अन्त्यका लागि तत्काल कदम चाल्न नगर प्रमुखलाई आग्रह गरेका छन्। उनीहरूले प्रमुख प्रशासकीय अधिकृतलाई कार्यालयमा हाजिर गराउन, सामाजिक सुरक्षा भत्ता EFT मार्फत लाभग्राहीहरुको खातामा पठाउन, प्राविधिकबीचको विवाद समाधान गर्न, छठ पर्वका तयारीका लागि घाट सजावट कार्यक्रम लागू गर्न र वडास्तरमा कार्यरत कर्मचारीहरूको समस्या समाधान गर्न माग गरेका छन्।
   नगरपालिकाभित्रका समस्याहरु समाधान गर्न नगरप्रमुखलाई बारम्बार आग्रह गर्दा पनि सुनुवाइ नभएपछि बाध्य भएर आन्दोलनमा उत्रिनु परेको र यो आन्दोलन  माग पूरा नभएसम्म निरन्तर जारी रहने वडा न-६ खुटौनाका वडाअध्यक्ष राम कैलाश रायले बताए। तालाबन्दी पश्चात् आन्दोलनरत जनप्रतिनिधिहरुले केही बेर नगरपालिकाको गेट अगाडी नाराबाजी समेत गरेका थिए। तालाबन्दीमा स्थानीय महिलाहरुको समेत उल्लेखनीय सहभागीता रहेको थियो।

No comments:

Post a Comment