Translate

Saturday, November 22, 2025

कवि सदानन्द अन्तर्राष्ट्रिय बज्जिकासेवी पुरस्कार वितरण समारोह सम्पन्न

 

साहित्यकार सञ्जय साह ‘मित्र’ र पत्रकार मनोज यादव सम्मानित



मधेशदूत समाचारदाता---
सर्लाही मंसिर ७ 

   बज्जिका भाषाका साहित्यकार सन्जय साह ‘मित्र’ लाई ‘कवि सदानन्द अन्तराष्ट्रिय बज्जिकासेवी पुरस्कार’ प्रदान गरिएको छ ।
   शनिवार सर्लाहीको सदरमुकाम मलंगवामा बज्जिका साहित्य समाज सर्लाहीले आयोजना गरेको कवि सदानन्द अन्तर्राष्ट्रिय बज्जिकासेवी पुरस्कार , सम्मान तथा समर्पण समारोहमा रौतहटका साहित्यकार साहलाई ५० हजार रुपैयाँ राशीसहितको साहित्यिक पुरस्कार प्रदान गरेको हो । 
    आयोजक संस्थाका सचिव मुकेश मिश्रका  अनुसार पुरस्कारका लागि उपयुक्त पात्र चयन गर्न तीन सदस्यीय उपसमिति गठन गरिएको थियो । अध्यक्ष रामचन्द्र महतो कुशवाहाको संयोजकत्वमा विनिता कुमारी साह र श्रीमती गुडीकुमारी साहको तीन सदस्यीय पुरस्कार चयन समितिले मित्रलाई पुरस्कार दिन सिफारिश गरेअनुरुप उक्त पुरस्कार प्रदान गरिएको हो।
  बज्जिका भाषा र साहित्यको साथै नेपाली साहित्यको लामो समयदेखि सेवा गरेको भन्दै मित्रलाई ५० हजार रुपैया नगद, सम्मानपत्र र दोसल्ला ओढाएर सम्मानित गरिएको थियो।
   बज्जिका, नेपाली र हिन्दी साहित्यमा सक्रिय योगदान दिंदै आएका साहित्यकार मित्रका डेढ दर्जनभन्दा बढी कृतिहरू प्रकाशित भइसकेका छन्। हाइकु, कविता, समालोचना, समीक्षा, संस्कृति र महाकाव्यसम्मका विधामा कलम चलाउँदै आएका मित्र यसअघि नेपाल सरकारको संस्कृति मन्त्रालयबाट ‘प्रादेशिक प्रतिभा (साहित्य) पुरस्कार’ र सर्लाहीकै संस्थाबाट ‘बज्जिका शिरोमणि’ उपाधिले सम्मानित भइसकेका छन्।


    जिल्ला समन्वय समिति सर्लाहीका प्रमुख कौशलकिशोर सिंहको प्रमुख आतिथ्यता बज्जिका साहित्य समाज सर्लाहीका अध्यक्ष रामचन्द्र महतो कुशवाहाको अध्यक्षतामा भएको कार्यक्रममा सर्लाही जिल्लाबाट प्रकाशित हुँदै आएको मधेशदूत दैनिक पत्रिकालाई समेत सम्मानित गरिएको सचिव मिश्रले जानकारी दिए। पत्रिकाका प्रकाशक एवं पत्रकार मनोज यादवलाई ‘कवि सदानन्द अन्तर्राष्ट्रिय बज्जिका पत्रिका सम्मान–२०८२’ प्रदान गरिएको हो। पत्रकार यादव यसअघि नेपाल पत्रकार महासंघ सर्लाहीद्वारा गजेन्द्रनारायण सिंह स्मृति पत्रकारिता पुरस्कारबाट पनि सम्मानित भइसकेका छन्।
   यसै क्रममा ‘कवि सदानन्द अन्तर्राष्ट्रिय बज्जिकासेवी सम्मान’बाट समाजसेवी दीनबन्धु झा, मानव अधिकारकर्मी मुकेश कुमार मिश्र, साहित्यकार सञ्जय महतो राज, विजय यादव निर्बिज, ममता मृदुल, बुद्धवीर लामालगायतलाई सम्मानित गरिएको छ ।
   त्यस्तै भारतका साहित्यकार मणिभूषण प्रसाद सिंह अकेला, सन्तोष चौधरी, हंसलाल साह र हेमा सिंहलाइ पनि सम्मानित गरिएको छ।
   सर्लाहीकै विष्णु गाउँपालिकाका सेवा निवृत्त प्रहरी कर्मचारी महानन्द झाले आफ्ना दाजु स्व. सदानन्द झाको स्मृतिमा यो पुरस्कार तथा सम्मान स्थापना गरेका हुन् ।
    मलंगवा–१० स्थित मलंगवा पार्टी प्यालेसमा सम्पन्न समारोहमा नेपाल र भारतका बज्जिका, नेपाली तथा हिन्दी भाषाका अग्रणी साहित्यकारहरू, विभिन्न संस्थाका प्रमुख तथा प्रतिनिधिहरूको उल्लेख्य उपस्थिति रहेको थियो।


No comments:

Post a Comment