Translate

Saturday, November 22, 2025

मलंगवा नयाँ बसपार्क सञ्चालनमा प्रशासन सक्रिय, समस्या समाधानतिर पहल




मधेशदूत समाचारदाता----
सर्लाही,मंसिर ७

     लामो समयदेखि अलपत्र अवस्थामा रहेको मलंगवा बसपार्क सञ्चालनका लागि प्रशासनिक तवरबाट ठोस पहल सुरु गरिएको छ। सर्लाहीका प्रमुख जिल्ला अधिकारी रामुराज कडरियाले बसपार्क सञ्चालन सम्बन्धी सबै सरोकारवालासँग छलफल गर्न छिट्टै बैठक बोलाउने तयारी भइरहेको जनाएको छ।
   प्रजिअ कडरियाले पुरानो बसपार्क रहेको जग्गा कृषि विकास बैंकको नाममा दर्ता रहँदै आएको र सो ठाउँमा बैंकको आफ्नै भवन निर्माण प्रक्रिया अगाडि बढिसकेकाले विकल्पको रूपमा नयाँ बसपार्क तत्काल सञ्चालनमा ल्याउनु अत्यावश्यक बनेको स्पष्ट पारे।
  उनका अनुसार व्यवस्थित र सुरक्षित बसपार्क सञ्चालन हुन सके मलंगवाको व्यापारिक गतिविधि, यातायात सेवा र यात्रु व्यवस्थापनमा सकारात्मक प्रभाव पर्ने अपेक्षा छ। “सहकार्य र समन्वयले धेरै काम सजिलै हुने भएकाले सबै पक्षलाई एउटै टेबुलमा ल्याएर समाधान निकालिनेछ,” प्रजिअ कडरियाले बताए।
   मलंगवा नगरपालिका वडा न-२ मा रहेको श्री रामकविर मठले उपलब्ध गराएको २५ रोपनी जग्गामा संघीय आयोजना कार्यान्वयन एकाइ जनकपुरधाममार्फत ८ करोड ३१ लाख रुपैयाँमा निर्माण गरिएको बसपार्क भौतिक रूपमा अत्याधुनिक भए पनि सञ्चालन नहुँदा वर्षौँदेखि बेवारिस अवस्थामा छ। कनकाई इन्टरनेसनल बिल्डर्स, झापाले निर्माण गरेको बसपार्कमा साढे दुई तले टर्मिनल भवन, यात्रु प्रतीक्षालय, सार्वजनिक शौचालय, खानेपानी, वर्कसप क्षेत्र तथा ५२ वटा ठूला र २० वटा साना सवारी पार्किङ क्षमता जस्ता सुविधा रहेका छन्।
  तर बस व्यवसायीहरूबीचको आन्तरिक विवादका कारण उद्घाटन भएर पनि नियमित सेवा सुरु हुन सकेको थिएन।
  उक्त बसपार्क २०७९ माघ ४ मा संघीय इकाइले मलंगवा नगरपालिकालाई हस्तान्तरण गरेको थियो र त्यसपछि तत्कालीन नगरप्रमुख नागेन्द्र प्रसाद यादव तथा प्रजिअ इन्द्रदेव यादवले संयुक्त रूपमा उद्घाटन समेत गरेका थिए। तर व्यावहारिक रूपमा सेवा सुरु हुन नसक्दा जनस्तरमा आलोचना भइरहेको छ।
  अब भने प्रजिअ कडरिया नेतृत्वको प्रशासन बस व्यवसायी, नगरपालिका, सुरक्षा निकाय तथा अन्य सरोकारवाला सबैसँग छलफल गरी तत्कालीन विवाद समाधान गरी बसपार्क सञ्चालनमा ल्याउनेतर्फ दृढ देखिएको छ।
   स्थानीयवासी तथा यात्रुले पनि लामो प्रतिक्षा सकिने र व्यवस्थित सेवा पाउनेमा आशावादी प्रतिक्रिया दिएका छन्।

No comments:

Post a Comment