मलंगवाको जनसागर पोखरीमा फोहर गर्नेलाई जरिवाना गर्ने वडा कार्यालयको निर्णय
मधेशदूत समाचारदाता----
सर्लाही, कात्तिक १७
सर्लाहीको सबैभन्दा पुरानो स्थानीय तह मलंगवा नगरपालिका वडा नं. ९ स्थित जनसागर पोखरीमा फोहर गर्नेहरुलाई वडा कार्यालयले जरिवाना गर्ने निर्णय गरेको छ।
सरसफाइ अभियान चलाएर उक्त पोखरीलाई तीनपटक सफा गरिएको भए पनि बजारका व्यापारी र स्थानीयबाट फोहर गर्ने कार्य नरोकेपछि वडा कार्यालयले यस्तो कडा कदम चालेको हो ।यसका लागि वडाअध्यक्ष चन्देश्वर रायले सूचनानै जारी गरेको छ।
“सफा पोखरी, स्वस्थ जीवन” भन्ने नारासहितको अभियानअन्तर्गत वडाध्यक्ष रायको अगुवाइमा स्थानीय युवासमूह र स्वयंसेवकहरूले पोखरी वरिपरि पटक–पटक सरसफाइ गरेका थिए। तर, तरकारी व्यापारी, माछा–मासु विक्रेता र केही स्थानीयहरुले फोहर गर्ने, प्लास्टिक र कुहिने पदार्थ पोखरी नजिकै फ्याँक्ने जस्ता कार्य दोहोर्याउँदै आएकाले बाध्य भएर वडा कार्यालयले जरिवाना व्यवस्था गर्ने निर्णय गरेको हो।
वडाध्यक्ष रायका अनुसार पोखरी क्षेत्रमा स्वच्छता उल्लङ्घन गर्नेहरूमाथि अबबाट कडा निगरानी र आर्थिक जरिवाना गरिनेछ।
वडा कार्यालयद्वारा जारी सूचनामा पूजा सामग्री वा प्लास्टिकको थैली फ्याँक्नेलाई नगद रु. ५ हजार १,कुहिने तरकारी वा अन्य फोहर पदार्थ फ्याँक्नेलाई रु. १ हजार र माछा–मासुजस्ता फोहर फ्याँक्नेहरूलाई रु. १ हजार ५ सय रुपैयाँ नगद जरिवाना गर्ने उल्लेख गरिएको छ।
त्यस्तै, पोखरीको किनारमा टहरा वा झुपडी बनाएर मासु बेच्ने र फोहर फ्याँक्ने कार्य तत्काल बन्द गर्न तीन दिनको समयसीमा दिइएको छ। उक्त अवधिभित्र टहरा नहटाइएमा वडा कार्यालयले बल प्रयोग गरी हटाउने चेतावनी दिएको छ।
वडाध्यक्ष रायले जनसागर पोखरीको संरक्षण र सरसफाइमा सबै स्थानीयले सहयोग गर्नुपर्ने बताउँदै भने, “यो पोखरी हाम्रो पहिचान हो, यसलाई फोहर बनाउनेहरूलाई अब बिनाशर्त माफ गरिँदैन।”
स्थानीय युवाहरूले पनि वडाको निर्णयको स्वागत गर्दै, जनसागर पोखरीलाई पर्यटन तथा धार्मिक दृष्टिले आकर्षक स्थल बनाउन सरसफाइ अभियानलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेका छन्।
No comments:
Post a Comment