Translate

Monday, November 3, 2025

मलंगवा बजारमा छाडा पशु आतंक सडक, सरसफाइ र जनस्वास्थ्य तीनै जोखिममा

 



 

    नगरपालिका बेखबर ?

मनोज यादव---
सर्लाही, कात्तिक १७

   सर्लाहीको सदरमुकाम मलंगवा बजार अहिले छाडा पशुहरूको आतंकमा परेको छ। बजारमा छाडा छाडिएका गाई, भैंसी,बाच्छा , साँढे, बाख्रा र सुंगुरहरुका कारण दुर्घटनाको जोखिम, सरसफाइको समस्या र जनस्वास्थ्यमा प्रत्यक्ष असर पार्दै गएको छ।
   बजार क्षेत्र, विद्यालय वरिपरि र अस्पताल परिसरमै यिनको भीड देखिन्छ।  स्थानीयहरू लामो समयदेखि यस समस्याको समाधानका लागि आवाज उठाउँदै आएका छन्, तर नगरपालिका पक्षबाट भने ठोस कदम उठाइएको छैन ।
  बजारको मुख्य सडकदेखि हुलाकी राजमार्गसम्म, हाट बजार, अस्पताल नजिक र विद्यालयका वरिपरि दिनहुँ दर्जनौं पशुहरू घुमिरहेका देखिन्छन् । विशेषगरी राति सडकमा पशुहरू पस्दा सवारी साधन दुर्घटनामा पर्न सक्ने जोखिम अत्यधिक बढेको छ ।
एकजना स्थानीय व्यवसायी भन्छन् “हामी बिहान पसल खोल्नुअघि नै सडकमा गाई–बाच्छाको मल थुप्रिएको हुन्छ । नगरपालिकाले पटक–पटक सरसफाइको कुरा गर्छ, तर बजार क्षेत्र पशुहरुको लागि बनाइएको गोठ  जस्तो बनेको  छ ।”
  त्यस्तै, मलंगवा–२ कि एक गृहणी अमृता यादव बताउँछिन् “छोराछोरीहरू विद्यालय जान डराउँछन् । कतिपय गाईहरू आक्रामक भएका छन्, छाडा कुकुरहरुबाट बाटोमा मानिसलाई खेद्ने घटना पनि भएको छ । तर नगरपालिकाले भने यसतर्फ ध्यान 
दिएको छैन ।”
   नगरपालिकाले सरसफाइ र पशु नियन्त्रण अभियान चलाउने बताउँदै आएपनि व्यवहारमा त्यसको कार्यान्वयन देखिएको छैन । न त छाडा पशु नियन्त्रणका लागि कर्मचारी परिचालन गरिएको छ, न त बजारको सरसफाइ नै सही ढंगले गरिएको छ ।
  “यदि हरेक वर्ष बजेट छ, सरसफाइ अभियान चल्छ भने, बजारमा छाडा पशुहरु  किन घुमिरहेका छन् ?”स्थानीयहरुले नगरपालिकासँग सोझो प्रश्न गरेका छन् ।
मलंगवा बजारमा सडक स्वच्छता र व्यवस्थापन नहुँदा बाह्य आगन्तुकहरूमा पनि नकारात्मक सन्देश पुग्ने स्थानीय व्यापारीहरूको भनाइ छ ।
  स्थानीय  युवाहरूले सामाजिक अभियानमार्फत पशु नियन्त्रण र सरसफाइमा सहयोग गर्न तयार रहेको जनाएका छन् । तर “नगरपालिकाले नेतृत्व लिनुपर्छ, हामी साथ दिन तयार छौं ।”उनीहरूको भनाइ छ।
   नगरपालिकाले  सरसफाइ र पशु नियन्त्रण दुवैलाई प्राथमिकताको रूपमा नलिएसम्म मलंगवा बजारको सुन्दरता, व्यापारिक गतिविधि र जनस्वास्थ्य सबै प्रभावित हुने देखिन्छ ।

No comments:

Post a Comment