नारायणी अस्पताल : नियम मिच्ने र जिम्मेवारीबाट भाग्ने अखडा
मधेशदूत समाचारदाता----
रौतहट,कात्तिक १७
बिरामीको उपचार र सेवाका लागि स्थापना गरिएको नारायणी अस्पताल आज आफैं उपचारको खाँचोमा परेको छ। सरकारी अस्पतालको रूपमा परिचित यो संस्था अहिले अनुशासनहीनता, नियम उल्लंघन र राजनीतिक हस्तक्षेपको केन्द्र बनेको आरोपमा विवादित बनेको छ।
करिब चार महिना अघि अस्पताल परिसरमा भएको तोडफोड र आगजनीमा सामान्य नागरिक होइन, अस्पतालमै कार्यरत केही कर्मचारी र डाक्टरको संलग्नता देखिएको छ।
आन्दोलनको नाममा सरकारी सम्पत्ति तोडफोड गरिएको भिडियो समेत सार्वजनिक भएपछि यो घटना झनै चर्चामा आएको हो।
तर, यति गम्भीर घटनापछि पनि न त छानबिन भयो, न कारबाही। अस्पताल प्रशासन र प्रदेश सरकार दुबै मौन रहँदा सर्वसाधारणले प्रश्न गर्न थालेका छन् — के सरकारी जागिरे कानुनभन्दा माथि छन् ?
चार महिना अघि सरुवा गरिएका सुब्बा सुनिल रौनियार अझै पनि नारायणी अस्पतालमै सक्रिय छन्। स्रोतका अनुसार उनी नियमित रुपमा कार्यालयमा उपस्थित नहुने, तर हाजिरीमा नाम राख्ने गरेका छन्।
नेपालको सार्वजनिक सेवा नियम अनुसार सरुवा भएका कर्मचारीले तत्काल नयाँ कार्यालयमा रिपोर्ट गर्नुपर्ने प्रावधान भए पनि यहाँ त्यो नियम ठट्टा बनेको छ।
राजनीतिक संरक्षण र प्रशासनिक मिलेमतोका कारण यस्तो अवस्था उत्पन्न भएको स्थानीयहरूले आरोप लगाएका छन्।
अस्पतालका प्रवक्ता तथा एमडीजीपी डा. उदयनारायण सिंह माथि पनि जिम्मेवारी उल्लंघनको आरोप लागेको छ।
प्रवक्ताको प्रमुख कार्य सञ्चार समन्वय र आपतकालीन कक्षमा सेवा पु-याउने हो। तर, डा. सिंह ओपीडीमै बसेर उपचार कार्यमा संलग्न रहेको देखिएको छ।
यो न केवल कार्यविभाजनको अपमान हो, बरु प्रशासनिक अनुशासनको धज्जी उडाउने काम भएको नागरिक समाजको आरोप छ।
No comments:
Post a Comment