सर्लाहीको कौडेना र ब्रम्हपुरी गाउँपालिकामा नयाँ प्रमुख प्रशासकीय अधिकृत हाजिर
मनोज यादव---
सर्लाही, कात्तिक २५
सोमबार सर्लाहीको कौडेना र ब्रह्मपुरी गाउँपालिकामा नयाँ प्रमुख प्रशासकीय अधिकृतहरूले कार्यभार सम्हालेका छन्।
कौडेना गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत सुरेश प्रसाद दास हाजिर भएका छन्। दासलाई गाउँपालिका अध्यक्ष रुपेश कुमार (बब्लु), उपाध्यक्ष नगिना देवी, वडाध्यक्ष, अन्य जनप्रतिनिधि र कर्मचारीहरूले स्वागत गरेका थिए।
केही साताअघि मात्रै जिल्ला प्रशासन कार्यालय सर्लाहीबाट सप्तरीको छिन्नमस्ता गाउँपालिकामा सरुवा भएका दासलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले कात्तिक २१ गते छिन्नमस्ता गाउँपालिकाबाट कौडेना गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतको रूपमा सरुवा गरेको हो। गोडैता नगरपालिका निवासी दासले कार्यालयका कर्मचारीलाई कार्यालय समयभित्रै पोसाकमा आइसक्न र नियमअनुसार काम गर्न निर्देशन दिएका छन्। यसअघि १० महिनासम्म आयूर्वेद शाखाका कविराज डा. सोनेलाल साहले कौडेना गाउँपालिकामा निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी सम्हालेका थिए।
त्यसैगरी ब्रह्मपुरी गाउँपालिकामा पनि नयाँ प्रमुख प्रशासकीय अधिकृत धनन्जय प्रसाद दास आज हाजिर भएका छन्। उनलाई पनि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले कात्तिक २१ गते तेह्रथुमको छथर गाउँपालिकाबाट सरुवा गरेर ब्रह्मपुरी पठाएको हो। यसअघि करिव दुई वर्षसम्म स्वास्थ्यतर्फका कर्मचारी छैठौं उपेन्द्र राउतले निमित्त प्रमुख प्रशासकीय अधिकृतको रूपमा काम गर्दै आएका थिए।
नयाँ प्रमुख प्रशासकीय अधिकृतहरूको हाजिरीले दुवै गाउँपालिकामा प्रशासनिक कामकाज अझ व्यवस्थित हुने अपेक्षा गरिएको छ।
No comments:
Post a Comment