Translate

Monday, November 10, 2025

मलंगवा नगरपालिकाको खाता–कोष रोक्का, सामाजिक सुरक्षा भत्ता वितरणमा अवरोध अब हाकिम भएर आउने भए पुर्व सहायक सिडियो

 



 

मनोज यादव---
सर्लाही, कात्तिक २५

      सर्लाहीको सदरमुकाम समेत रहेको मलंगवा नगरपालिकामा प्रशासनिक फेरबदल र आन्तरिक विवादका कारण सेवा वितरणमा अवरोध देखिएको छ। प्रमुख प्रशासकीय अधिकृतसम्बन्धी विवादका कारण कोष तथा लेखा नियन्त्रण कार्यालयले नगरपालिकाको खातासहित सबै आर्थिक गतिविधि रोक्का गरेको छ। यसबाट सामाजिक सुरक्षा भत्ता वितरण र अन्य सेवा–सुविधा प्रभावित भएको छ।
  उप–प्रमुख शकुन्तला देवी साह र वडाध्यक्षहरूले प्रमुख प्रशासकीय अधिकृतको मागसहित १० बुँदे मागहरु प्रस्तुत गर्दै नगरपालिकाको कार्यालयमा आइतवारदेखि अनिश्चितकालीन तालाबन्दी गरेका छन्। प्रशासनिक विवादका कारण नागरिकहरूले दैनिक सेवा लिन कठिनाइ भोग्नुपरेको छ।तालाबन्दी दोस्रो दिन सोमबार पनि जारी रहेको थियो।


    आन्दोलनरत जनप्रतिनिधिहरुले स्वास्थ्य र राजस्व शाखाबाहेक नगरप्रमुख तथा प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षसहित र अन्य शाखाहरुमा  तालाबन्दी गरेका छन् । उनीहरुले ज्येष्ठ नागरिक, एकल महिला, अपाङ्गता भएका व्यक्ति, बालबालिकालगायतको सामाजिक सुरक्षा भत्ता तुरुन्त निकासा गर्नुपर्ने, शिक्षक, कर्मचारीलाई तलब दिनुपर्ने, नगरपालिकामा बिचौलियाको हालिमुहाली रोक्नुपर्नेलगायतको माग राखेका छन् ।
   यसैबीच, होमप्रसाद घिमिरे मलंगवा नगरपालिकामा नयाँ प्रमुख प्रशासकीय अधिकृतका रूपमा कार्यभार सम्हाल्न लागेका छन्। घिमिरे हालै महोत्तरीको जलेश्वर नगरपालिकाबाट सरुवा भएका हुन्। यसअघि उनी सर्लाहीमा सहायक प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी सम्हालिसकेका छन् । 
    पूर्व प्रमुख प्रशासकीय अधिकृत होमनाथ सुवेदीको सरुवापछि अमन कुमार कर्णलाई जिम्मेवारी तोकिएको थियो। तर कर्णले कार्यभार ग्रहण नगरेपछि र पछि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको निर्णय अनुसार धनुषाको सबैला नगरपालिकामा सरुवा भएपछि, घिमिरेलाई मलंगवामा पठाइएको हो।
   विशेषज्ञका अनुसार प्रशासनिक स्थिरता नभएको अवस्थामा स्थानीय सेवामा समस्या आउनु स्वाभाविक भएको बताइन्छ।
   

No comments:

Post a Comment