हजारबिघा खानेपानी आयोजना निर्माण सम्पन्न गर्न सम्झौता, समुदायमा जाग्यो आशाको किरण
मधेशदूत समाचारदाता–––
सर्लाही, कात्तिक २६
हरिपुर नगरपालिकाको हजार बिघा खानेपानी आयोजना अब पूरा हुने भएको छ। लामो समयदेखि निर्माण अधुरो रहँदै आएको यो आयोजना निर्माण सम्पन्न गर्न वागमती सेवा समाज नेपाल र अक्सफामबीच नयाँ सम्झौता भएको हो। उक्त सम्झौताअनुसार सबै गतिविधि र खर्च यसै आर्थिक वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ।
नेपाल सरकारको लगानीमा वर्षौं अगाडि सुरु भए पनि पूरा हुन नसकेको यो आयोजना निर्माण सम्पन्न गराई स्थानीय समुदायमा स्वच्छ खानेपानी आपूर्ति गर्ने उद्देश्यले गरिएको सम्झौताले स्थानीय बासिन्दामा आशाको किरण जगाएको छ।
बागमती सेवा समाज नेपालले अक्सफामको समन्वय तथा सहजीकरणमा सञ्चालन गरिरहेको ‘खानेपानी आयोजनाहरुको लागि वैकल्पिक व्यवस्थापन पद्धति Alternative Management Model(AWM)’ परियोजना अन्तर्गत यो कार्य अघि बढाइएको हो। सोही परियोजनाको सहयोग, समन्वय तथा सहकार्यमा हरिपुर नगरपालिकामा खानेपानी आयोजनाहरुको एकीकृत तथा दिगो व्यवस्थापनका लागि हरिपुर खानेपानी तथा सरसफाई व्यवस्थापन बोर्ड पनि सञ्चालनमा रहेको छ।
बोर्डका संयोजक किशोर चन्द्र उपाध्यायका अनुसार, खानेपानी सेवालाई विश्वसनीय, प्रभावकारी र दिगो बनाउन अब बोर्ड अन्तर्गतका आयोजनाहरुको संख्या बढाउने तयारी भइरहेको छ। “खानेपानी उपभोग गर्ने घरधुरीहरुको संख्या विस्तार गर्नु र सेवाको पहुँच बढाउनु अत्यावश्यक छ,” उपाध्यायले भने।
उनका अनुसार जुनसुकै निकायले आयोजना सुरु गरे पनि त्यसको प्रतिफल जनताले समयमा पाउनु जरुरी हुन्छ। त्यसैले अधुरा संरचनाहरुको निर्माण सम्पन्नता, वितरण प्रणाली सुधार र पानीको गुणस्तर सुनिश्चित गर्न बोर्ड सक्रिय रूपमा कार्यरत रहेको उनले बताए।
बोर्डले आवश्यक सहयोगका लागि सरकारी तथा गैरसरकारी निकायहरुसँग निरन्तर समन्वय र सहकार्य गरिरहेको पनि संयोजक उपाध्यायले जानकारी दिए।
No comments:
Post a Comment