Translate

Wednesday, November 12, 2025

तराई–मधेशमा हराउँदै बयलगाडा : इतिहास बन्दै गाउँको पहिचान



आधुनिक प्रविधिले विस्थापित गर्‍यो मधेशको परम्परागत सवारी साधन


मनोज यादव---
सर्लाही, कात्तिक २६

   एक समय थियो ,तराई–मधेशका हरेक गाउँघरमा बयलगाडाको घर्घर आवाज गुन्जिन्थ्यो। बिहानै खेत जोत्न जाने किसान, बेलुकी बजारबाट फर्किने व्यापारी, वा बिहे भोजमा जाँदै गरेका गाउँलेहरू, सबैको यात्रासँग बयलगाडा गाँसिएको थियो। माटोको बाटो, खेतको किनार र गाउँको गलीजहाँ पुग्दा पनि बयलगाडा देखिन्थ्यो। तर अहिले त्यो दृश्य इतिहास बन्दै गएको छ।
  आधुनिक प्रविधिको लहरले गाउँ छेउको पराल, धान, मलदेखि मानिस ओसारपोसार गर्ने बयलगाडालाई विस्थापित गरिदिएको छ। खेत जोत्ने हलोको सट्टा ट्याक्टर, रोटाभेटर, पावर टिलरजस्ता मेशिनले ठाउँ लिइसकेका छन्। अनि, गोरुको घण्टीको आवाज र गोरुका खुरले उडाएको धुलो अब सम्झनामा मात्रै बाँकी छन्।
   सर्लाहीका किसान सिताशरण यादव विगत दुई दशकदेखि खेतीपाती गर्दै आएका छन्। उनी सम्झन्छन् “पहिले त बयलगाडा बिना कुनै कामै चल्दैनथ्यो। धान, गहुँ, मकै, पराल सबै गोरुगाडामा बोक्थ्यौं। अहिले ट्याक्टर र मोटरसाइकलले सब काम गरिदिन्छन्। गोरु पाल्ने चलन नै हरायो।”
यादवका अनुसार अब गाउँका बालबालिकाले गोरु गाडा देख्दा नै अचम्म मान्ने गरेका छन्। “कहिलेकाहीँ कसैको पुरानो गाडा देख्दा नयाँ पुस्ता ‘यो के हो?’ भनेर सोध्छन्,” उनी मुस्कुराउँदै भन्छन्।
  बयलगाडा मधेशको संस्कृति र पहिचान थियो। गाउँका युवाले बयलगाडा सजाएर बिहेमा निकाल्थे, मेलामा प्रदर्शनीका रूपमा राख्थे। त्यो परम्परा अब लगभग अन्त्य भइसकेको छ।
मलंगवा-२ का स्थानीय भोला साह भन्छन्, “अब त बयलगाडा देख्दा पनि नौलो लाग्छ। पहिले गाउँ–गाउँमा दसवटा गोरुगाडा देखिन्थे, अहिले वर्षमा एकपटक पनि देखिँदैन।”
  आधुनिक सवारीसाधनले सुविधा ल्यायो, तर परम्पराको एउटा सुगन्ध हरायो। पहिले बयलगाडामा यात्रा गर्नु गर्वको कुरा मानिन्थ्यो। मिलौ दुरीको यात्रा,खुल्ला हावा खाँदै बिस्तारै हल्लिंदै गन्तव्यसम्म पुग्ने, बाटोमा गीत गाउने यी सबै अहिले स्मृतिमा मात्र छन्।
    सुविधाभोगी जीवनले मानिसलाई छिटो र सजिलो खोज्ने बनाएको छ। मोटरसाइकल, जिप, ट्रक र बसले गाउँसम्मै सहज पहुँच पुर्‍याएका छन्। त्यसैले नयाँ पुस्ताको लागि बयलगाडा अहिले ‘अनावश्यक’ भएका छन्।
  मधेशका धेरै गाउँमा अब बयलगाडा हेर्नै मुस्किल छ। कहिलेकाहीँ कुनै  किसानले पराल बोक्न प्रयोग गरेको गाडा देखिन्छ । एक समय मधेशको गर्व मानिने बयलगाडा आज म्युजियमका सामग्रीजस्ता बन्दै गएका छन्। यसको ठाउँ अब  इन्जिनको गर्जनले लिएको छ।
   गाउँले वृद्ध किसानहरू भन्छन्,समाजबाट 
“बयलगाडा हराए पनि हाम्रो जीवनका हरेक सम्झनामा त्यो अझै बाँकीनै रहने छ।”


No comments:

Post a Comment