Gmail-naveenbisphot@gmail.com what's app-9864030511☎️9807669520
परम्परागत बाँस–खरका घर हराउँदै, कंक्रिट संरचनाको प्रभुत्व बढ्दै
गाउँमा बाँस–खरका घर भेटिनु "एका देशको कथा" जस्तै भएको छ
मनोज यादव---
सर्लाही,कात्तिक ३०
तराई–मधेसका बस्तीहरूमा परम्परागत रूपमा प्रयोग हुने बाँस तथा खरले छाएको घर तीव्र गतिमा हराउँदै गइरहेका छन्। पछिल्ला वर्षमा कंक्रिट संरचनाको विस्तार बढेपछि परम्परागत बस्तीको स्वरूप नै परिवर्तन हुँदै गएको स्थानीयहरू बताउँछन्।
केही दशक पहिलेसम्म गाउँको पहिचान मानिने बाँस–खर तथा माटोका घरहरू अहिले कमै मात्र देखिन्छन्। प्राकृतिक सामग्रीबाट बन्ने यस्ता घर टिकाउ नहुनु, बारम्बार मर्मत गर्नुपर्ने, खर र माटो जस्ता स्रोत दुर्लभ बन्दै जानु र आधुनिक सुविधासँग असहज हुनु यस्ता कारणले परम्परागत घर बनाउने चलन घट्दै गएको स्थानीयको भनाइ छ।
कबिलासी नगरपालिकाका वडा न-९, सलेमपुरका ६७ वर्षीय स्थानीय कपल राय भन्छन्,“पहिले त सबैका घर माटोको भित्ता तथा खपडा र खरकै हुन्थे। वर्षेनी छाना फेर्नुपर्थ्यो, भित्तामा माटो लगाउनुपर्थ्यो। अहिले मान्छेले त्यति समय र मेहनत दिन सक्दैनन्।”
उनका अनुसार पछिल्ला वर्षमा खर, बाँस तथा स्याउलाजस्ता घर निर्माण सामग्री सहजै उपलब्ध नहुनुले पनि परम्परागत घर बन्न छाडेका छन्।
इन्जिनियर घनश्याम सिंह यादवका अनुसार कंक्रिट संरचनाको दीर्घकालीन टिकाउपन, भूकम्पीय सुरक्षा तथा आधुनिक सुविधासँगको अनुकूलता नै कंक्रिटतर्फ आकर्षणको प्रमुख कारण हो। उनको शब्दमा, “कंक्रिटको पर्खाल, आरसीसीको छाना र सुरक्षित संरचना अब ग्रामीण भेगकै प्राथमिकता बनेको छ। सरकारी नक्सा, गृहबीमा र कर्जामा पनि पक्की घरलाई प्राथमिकता दिइन्छ।”
पहिला खर काट्ने, छाना छाउने, माटो पोत्ने जस्ता काम गर्ने कारीगर गाउँ–गाउँमा पाइन्थे। अहिले यस्ता सीप सिक्ने नयाँ पुस्ता अगाडि नआएको स्थानीयहरू बताउँछन्।
रामनगर गाउँपालिका बिर्ता टोलका किसान रामशंकर पंडित भन्छन्,“नदीकिनारमा पहिले जति खर मिल्थ्यो, अब त फेला पार्नै मुस्किल हुन्छ। सामग्री नै नपाएपछि कसरी पुरानो शैलीका घर बनाउने?”
मलंगवा नगरपालिका वडा न-११,गम्हरिया माविका शिक्षक बिजय कुमार यादवका अनुसार परम्परागत घर हराउँदै जाँदा गाउँको सांस्कृतिक स्वरूपमा ठूलो परिवर्तन आएको छ।
उहाँ भन्छन्,“बाँस–खरका घर केवल बस्ने ठाउँ मात्र होइन, गाउँको जीवनशैली र स्थानीय संस्कृति बोकेको संरचना थियो। अहिले आधुनिकता र सामाजिक प्रतिष्ठाले त्यसलाई विस्थापन गरिरहेको छ।”
अहिले धेरै बस्तीमा एउटै किसिमका कंक्रिटका घरहरू बनिरहेका छन्। केही क्षेत्रमा होमस्टे र पर्यटनका लागि परम्परागत शैली पुनर्जीवित गर्ने प्रयास भए पनि गाउँ बस्तीमा भने बाँस–खरका घर भेटिनु दुर्लभ हुँदै गएको छ।
स्थानीयका अनुसार बदलिँदो जीवनशैली, शहरीकरणको प्रभाव र सरकारी नितिका कारण अब गाउँमा बाँस–खरका घर भेटिनु "एका देशको कथा" जस्तै भएको छ।
सुरक्षा, टिकाउपन र सुविधाको खोजीसँगै परम्परागत घरको स्थान कंक्रिटले लिएको छ।
तर यसको परिणामस्वरूप गाउँको सांस्कृतिक पहिचान, पुरानो सीप–कला र सामुदायिक श्रमको परम्परा बिस्तारै हराउँदै गएकोमा स्थानीयहरूले चिन्ता व्यक्त गरेका छन्।
No comments:
Post a Comment