रामनगरमा उत्कृष्ट स्वास्थ्य संस्थाहरूलाई सम्मान
मधेशदूत समाचारदाता
सर्लाही, कात्तिक २३
सर्लाहीको रामनगर गाउँपालिकाले आर्थिक वर्ष २०८१/०८२ मा प्रभावकारी रूपमा स्वास्थ्य सेवा सञ्चालन गरी निर्धारित सूचकांकको आधारमा उत्कृष्ट प्रदर्शन गर्ने स्वास्थ्य संस्थाहरूलाई सम्मान गरेको छ।
गाउँपालिकाको स्वास्थ्य शाखाले बिहीबार र शुक्रबार दुई दिनसम्म पालिका प्रमुख राजाबाबु यादवको अध्यक्षतामा आयोजना गरेको स्वास्थ्य कार्यक्रमहरूको वार्षिक प्रगति समीक्षा गोष्ठीको समापन समारोहमा उत्कृष्ट स्वास्थ्य चौकीहरूलाई प्रमाणपत्र र दोसल्ला ओढाएर पुरस्कृत गरिएको हो।
पालिका अन्तर्गतका ७ वटै वडामा रहेका स्वास्थ्य चौकीहरू मध्ये गढहिया स्वास्थ्य चौकीले पहिलो स्थान, खैर्वा स्वास्थ्य चौकीले दोस्रो स्थान, रामनगर बहुअर्वा स्वास्थ्य चौकीले तेस्रो स्थान र सिसौट स्वास्थ्य चौकीले चौथो स्थान हासिल गरेका छन्।
समीक्षा गोष्ठीमा प्रत्येक वडाका स्वास्थ्य चौकी प्रमुखहरूले गत आर्थिक वर्षमा सञ्चालन भएका स्वास्थ्य कार्यक्रमहरू, उपलब्धिहरू र चुनौतीहरूको विस्तृत विवरण प्रस्तुत गरेका थिए।
समापन सत्रमा उपाध्यक्ष गीता देवी, प्रमुख प्रशासकीय अधिकृत कृष्ण कुमार यादव, वडा नं. १ का वडाअध्यक्ष ब्रम्हदेव चौधरी लगायतका अतिथिहरूले स्वास्थ्य सेवा प्रणालीलाई अझ सुदृढ र प्रभावकारी बनाउन आवश्यक कदमबारे सुझाव राखेका थिए।
त्यस अवसरमा स्वास्थ्य शाखा प्रमुख संतोष यादवले आमा समूहको मासिक बैठक सञ्चालन गर्न ४५ जना महिला स्वास्थ्य स्वयंसेविकालाई एक–एक थान ब्यानर र त्रिपाल उपलब्ध गराउने प्रस्ताव पनि गरेका थिए।
कार्यक्रम गाउँपालिकाको सभाहलमा सम्पन्न भएको हो, जसमा वडाअध्यक्षहरू, स्वास्थ्य चौकी प्रमुखहरू तथा पत्रकारहरूको सहभागिता रहेको थियो।
No comments:
Post a Comment