Translate

Sunday, November 9, 2025

गोडैताको मधुवनीमा जाँड–रक्सी र जुवा रहित महावीरी झण्डा मेला सम्पन्न

 


मधेशदूत समाचारदाता
सर्लाही, कात्तिक २३

    सर्लाहीको गोडैता नगरपालिका–१२, मधुवनीमा विगत चार वर्षदेखि निरन्तर रूपमा सञ्चालन हुँदै आएको जाँड, रक्सी र जुवा रहित महावीरी झण्डा मेला यस वर्ष पनि भव्य रूपमा सम्पन्न भएको छ। वडा अध्यक्ष केशव कुमार यादवको निजी लगानीमा सञ्चालन हुँदै आएको यस मेलाले स्थानीय स्तरमा धार्मिक, सांस्कृतिक र सामाजिक एकताको सन्देश फैलाउँदै आएको छ।
  बिहीवार आयोजित मेलामा करिब ७ हजारभन्दा बढी श्रद्धालु तथा दर्शकहरूको सहभागिता रहेको आयोजकले जनाएको छ। यसअघि बुधबार विशेष पूजापाठसहित मेलाको धार्मिक विधि सम्पन्न गरिएको थियो।
   मेलाको उद्घाटन गोडैता नगरपालिकाका प्रमुख देवेन्द्र कुमार यादवले गर्नुभएको थियो। सो अवसरमा वडा अध्यक्षहरू विजय प्रसाद यादव, राजाराम साह, मिरेन्द्र झा, मेयर प्रत्यासी गजेन्द्र कुमार यादव, नगरपालिकाका कर्मचारीहरु, नेपाल प्रहरी र सशस्त्र प्रहरीका इन्सपेक्टरहरू तथा स्थानीय समाजसेवीहरूको समेत उपस्थिति रहेको थियो।
  मेलाको मुख्य आकर्षणको रूपमा ९ खण्डको महावीरी झण्डा माथि नेपालको राष्ट्रिय झण्डा  राखिएको थियो। साँझको समयमा आयोजित सांस्कृतिक कार्यक्रमले मेलाको रौनकतालाई थप बढाएको थियो।
    वडा अध्यक्ष यादवका अनुसार, मेलाको उद्देश्य स्थानीय युवाहरूमाझ धार्मिक आस्था र सामाजिक मर्यादा कायम राख्दै समाजलाई जाँड, रक्सी र जुवाबाट मुक्त बनाउने अभियानलाई सशक्त बनाउने रहेको छ।


No comments:

Post a Comment