गोडैतामा स्वास्थ्य कार्यक्रमहरूको वार्षिक समीक्षा गोष्ठी सम्पन्न, सिसौटिया स्वास्थ्य चौकी प्रथम
मधेशदूत समाचारदाता
सर्लाही, कात्तिक २०
सर्लाहीको गोडैता नगरपालिकाले आर्थिक वर्ष २०८१/०८२ मा सञ्चालन भएका स्वास्थ्य कार्यक्रमहरूको पालिका स्तरीय वार्षिक समीक्षा गोष्ठी सम्पन्न गरेको छ। दुई दिनसम्म (मंगलवार र बुधबार) चलेको उक्त गोष्ठी स्वास्थ्य शाखाको आयोजनामा तथा नगर प्रमुख देवेन्द्र कुमार यादवको अध्यक्षतामा सम्पन्न भएको हो।
गोष्ठीमा नगरपालिकाका १२ वटै वडाका स्वास्थ्य चौकी प्रमुखहरूले आफ्नो-आफ्नो वडामा गत आर्थिक वर्षमा सञ्चालन भएका स्वास्थ्य कार्यक्रम र प्राप्त उपलब्धिहरूको विवरण प्रस्तुत गरेका थिए। प्रस्तुत सूचकाङ्कका आधारमा उत्कृष्ट प्रदर्शन गर्ने तीन स्वास्थ्य संस्थालाई प्रमाणपत्रसहित दोसल्ला ओढाएर सम्मानित गरेको स्वास्थ्य शाखा प्रमुख प्रमोद पंडितले जनाएको छ।
बुधबार सम्पन्न समापन सत्रमा स्वास्थ्य चौकी सिसौटिया प्रथम, स्वास्थ्य चौकी बेल्वा जब्दी र सामुदायिक स्वास्थ्य सेवा इकाई बेल्वा द्वितीय, र रोहुवा स्वास्थ्य चौकी तृतीय घोषित भएका छन्। तिनै स्वास्थ्य चौकीका प्रमुखहरू र सम्बन्धित वडाका वडाअध्यक्षहरूलाई नगर प्रमुख यादव र नगर उपप्रमुख अञ्जना कुशवाहाले दोसल्ला ओढाई कदरपत्रसहित सम्मान गरेका हुन्।
कार्यक्रममा बोल्दै नगर प्रमुख यादवले स्वास्थ्य सेवा निरन्तर र प्रभावकारी रूपमा सञ्चालन गर्दै उत्कृष्ट कार्य सम्पादन गर्ने सबै स्वास्थ्य चौकी, स्वास्थ्यकर्मी र महिला स्वास्थ्य स्वयंसेविकाप्रति आभार व्यक्त गरे। उनले थपे, “नगरपालिकाको स्वास्थ्य सेवा प्रणालीलाई अझ सुदृढ बनाउन सबैको निरन्तर योगदान आवश्यक छ।”
स्वास्थ्य शाखा प्रमुख पण्डितले गोडैता नगरपालिकाका स्वास्थ्य संस्थाहरूले पछिल्ला वर्षमा स्वास्थ्य सूचकहरूमा उल्लेखनीय सुधार गरेको उल्लेख गर्दै आगामी दिनमा यस नगरलाई मधेस प्रदेशकै नमूना स्वास्थ्य नगरपालिकाका रूपमा स्थापित गर्ने प्रतिबद्धता जनाए। उनका अनुसार, स्वास्थ्य निर्देशनालयको पछिल्लो मूल्याङ्कनमा गोडैता नगरपालिका मधेस प्रदेशअन्तर्गतका आठ जिल्लाका पालिकामध्ये तेस्रो स्थानमा पर्न सफल भइसकेको छ।
कार्यक्रमकै क्रममा सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार नियमावली, २०७७ को नियम १४ (२) बमोजिम सुरक्षित गर्भपतन सेवा सञ्चालन गर्न योग्य ठहरिएका केही स्वास्थ्य चौकीहरूलाई नगर प्रमुख यादवले अनुमतिपत्र (प्रमाणपत्र) पनि वितरण गरेका थिए।
यो गोष्ठीले गोडैता नगरपालिकाको स्वास्थ्य क्षेत्रको प्रगतिलाई मूल्याङ्कन गर्ने मात्र नभई आगामी योजनाका लागि मार्गदर्शन गर्ने अवसर समेत प्रदान गरेको स्वास्थ्य कार्यालय मलंगवाका तथ्यांक अधिकृत लालबाबु रायले बताएका छन्।
गोडैता न.पा को कार्यालयमा सम्पन्न भएको दुईदिने समीक्षा गोष्ठीमा विशिष्ठ अतिथि नगर उपप्रमुख कुशवाहा,मधेश प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक सरोजचन्द्र न्यौपाने , प्रमुख प्रशासकीय अधिकृत शम्भु प्रसाद यादव, स्वास्थ्य कार्यालय मलंगवाका प्रमुख डा. नवल किशोर झा,UNFPA का बच्चालाल महतो लगायत विभिन्न शाखाका प्रमुख , १२ वटै वडाका वडाअध्यक्ष,स्वास्थ्य चौकी प्रमुख र पत्रकारहरुको सहभागीता रहेको थियो।
No comments:
Post a Comment